फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद


 


नारायण ढुङ्गाना काठमाडौँ, १३ माघ : झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो ।

झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खानेकुरा थियो । अर्काे झोलामा फोहरबाट सङ्कलन गरिएको खानेकुरा नजीकै बोराभित्र कतै फ्याँकिएको अवस्थाबाट टिपेर जोहो गरेको फम (म्याट), केही बाँसका दाउरा र पानी पर्दा छेकोका लागि एउटा थोत्रो छाता थियो ।काठमाडौँको बबरमहल अगाडिको यात्रु प्रतीक्षालय छेउमा आज अपराह्न ३ बजे यस्तो अवस्थामा थिए शङ्करप्रसाद । उनी फोहरबाट टिपेको खाना खाने तर्खरमा थिए । अर्काे खाना ल्याइदिने भन्दाभन्दै पनि उनले नुनमा मोलेर खाना खाए ।

यस्तैमा दैनिकी गुजार्दै आउनुभएका उनको नेपाल पत्रकार महासङ्घको लेखा समिति संयोजक रोशन पुरीको पहलमा आज मानवसेवा आश्रमले उद्धार गरेको छ । पुरीका अनुसार भारत घर बताउने शङ्करप्रसाद सडकमै खाने र सडकमै सुत्दै आएको करीब दुई महीना भयो ।

थाहासञ्चार नेटवर्कका समाचार प्रमुखसमेत रहेका पुरीले कार्यालय आउँदाजाँदा उनलाई देखेर मन खिन्न हुने गरेकाले उद्धारको पहल गरेको बताए । “बाटोमा आउँदाजाँदा सधैँ बिजोग अवस्था देखिन्थ्यो, त्यसैले मन मानेन, आज आश्रमले उद्धार ग¥यो पुण्य काम भएको महसुश भएको छ,” पुरीले शङ्करप्रसाद उद्धारको अनुभव सुनाए ।

चार दिनअघि उनले खबर गरेपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र काठमाडौँ संयोजक सुमन बर्ताैलाले उनलाई केही दिनदेखि उद्धारको प्रयास गरेका थिए । बेलाबेलामा खानेकुरा खोज्न जाने गरेकाले निकै पछ्याउँदासमेत फेला नपरेका शङ्करप्रसादलाई आज अपराह्न भेटिएपछि उद्धार गरेर मानवसेवा आश्रम गोङ्गबु लगिएको छ । फोहरबाट खानेकुरा नपाउँदा उनले आरीमा भात पकाएर खाने गरेका थिए ।

नेपाली भाषा नबुझ्ने उनले हिन्दीमा बताएअनुसार भारतबाट घुम्न पशुपति आएका बेला साथीसँग छुटेपछि पैसा नभएर स्वदेश फर्कन सकेनन । विकल्पमा उनको बास सडकमा हुनपुग्यो । “पैसा दिनुस्, म घर जान्छु”, कुराकानीका क्रममा उनले भने ।

इलेक्ट्रिकल्सको काम जानेका शङ्करप्रसादले कसैले काम गर्न दिए कामसमेत गर्ने बताए । घर जान इच्छुक भए पनि पैसा नभएको उनले दुःखेसो पोखे । “अघिल्लो महीनासम्म राम्रै मान्छे जस्तो देखिन्थे , दिनदिनै उनको अवस्था नाजुक बन्दै गयो,” पत्रकार पुरीले भने ।

सडकका असहाय, असक्त, मनोरोगी तथा मागेरसमेत खान नसक्नेहरुको उद्धार गर्दै आएको मानवसेवा आश्रमले उनीसँगै आजमात्रै काठमाडौँका विभिन्न क्षेत्रबाट पाँच जनालाई उद्धार गरेको काठमाडौँका संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

बर्ताैलाले भने , “उनलाई अब सरसफाइ गरेर, चिकित्सकीय सेवासँगै, मनोविमर्श सेवासमेत दिन्छौँ, अनि पारिवारिक वातावरणमा घुलमिल भएपछि आफ्नो ठाउँ ठेगाना बताउँदै जान्छन् , त्यसपछि परिवार फेला पारेमा भारतमै पुगेर पनि परिवारमा पुनः मिलन गराउने प्रयास गर्छौं ।” परिवार फेला नपरेसम्म आश्रमले नै संरक्षण गर्ने उनले बताए । यसअघि पनि भारतका धेरैलाई यसैगरी सडकबाट उद्धार गरी परिवार पत्ता लगाएर पुनः मिलन गराएको आश्रमले जनाएको छ ।

अहिले काठमाडौँको दुई आश्रममा मात्रै ९० जना सहयोगापेक्षीलाई उद्धार गरेर संरक्षण गरिएको उनले बताए । देशका १२ जिल्लामा १४ शाखामार्फत सेवा दिँदै आएको आश्रमले अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकामा ५०० भन्दा बढीलाई परिवारमा पुनःमिलन गराइसकिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्