बाह्य षड्यन्त्रको गोटी बन्दै कांग्रेस ! : आन्दोलन सरकारविरुद्ध कि गणतन्त्रविरुद्ध ?


 


काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेस रहस्यपूर्ण ढंगले सरकारका विरुद्धमा आक्रमकरुपले प्रस्तुत हुन थालेको छ । नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्रीहरू स्व.गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई केन्द्रले आफ्नो जिम्मेवारीबाट हटाएर प्रदेश सरकारको मातहत लैजान थालेको भन्ने मुद्दासँगै २०७५ माघ ११ गते शुक्रबार संसदबाट आफ्नो अहसमति र विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आधारमा पास भएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेस प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारका विरुद्धमा मात्र होइन, सरकारको नेतृत्व गरिराखेको नेपाल कम्युनिष्ट पार्टीका विरुद्धमा समेत आक्रामकरुपमा प्रस्तुत हुन थालेको छ ।

यसक्रममा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकारमात्र होइन सदनमा स्पष्ट बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टीलाई समेत समाप्त पारिदिने चेतावनी दिन थालेका छन् ।

आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई केन्द्रले आफ्नो मातहतमा नराखेको तथा आमरण अनसन बसिराखेका डा.गोविन्द केसीका मागलाई सम्बोधन नगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भनेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस वर्तमान सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका विरुद्धमा आक्रामकरुपले प्रस्तुत देखिएको भएतापनि नेपाली कांग्रेस यसरी वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीको विरुद्धमा चर्काेरुपमा प्रस्तुत हुनुको वास्तविक कारण भने अर्कै रहेको विश्लेषण बुद्धिजीवीहरूले गरेका छन् ।

संयुक्त राष्ट्र संघसँगै युरोपेली युनियनका राष्ट्रहरूले नेपालको द्वन्द्वकालको घटनाका सम्बन्धमा अगाडि बढेको न्याय प्रक्रियाप्रति असन्तुष्टी व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेपछि र भेनेज्वेलाको राजनीतिक घटनाक्रमको सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको आलोचना गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेपछि प्रतिपक्ष नेपाली कांग्रेस वर्तमान सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका विरुद्धमा आक्रामकरुपले प्रस्तुत हुन थालेको छ ।

दुई तिहाइको समर्थन प्राप्त र नेपाल कम्युनिष्ट पार्टीको आफ्नै स्पष्ट बहुमत भएको वर्तमान सरकारलाई नेपाली कांग्रेसले आफ्नो गणितीय हैसियत र क्षमताबाट हल्लाउने समेत स्थिति छैन । तर, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवादेखि युवा नेता गगन थापासमेत वर्तमान सरकारमात्र होइन सत्तारुढ कम्युनिष्ट पार्टीलाई समेत समाप्त पारिदिने चेतावनी पश्चिमा शक्तिहरूकै आडमा दिनथालेको ठहर बुद्धिजीवीहरूको रहेको छ ।

र, पश्चिमा मुलुकहरू नेपालमा पुनः राजनीतिक अस्थिरता कायम गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नकै लागि नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिलाई अस्थिरतातर्फ धकेल्न थालेका हुन् भन्ने घटनाक्रमले पुष्टि गर्न थालेको छ र नेपाली कांग्रेस वर्तमान सरकार र नेकपाका विरुद्धमा रहस्यपूर्ण तरिकाले आक्रामकरुपले प्रस्तुत हुन थालेसँगै कतिपय आइएनजीओहरूको सक्रियता पनि अस्वभाविकरुपले बढ्न थालेको छ ।

सरकारले स्व.गिरिजा र स्व.सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरूलाई केन्द्रीय सरकारको जिम्मेवारीबाट बाहिर राख्ने गरी गरेको निर्णयको सम्बन्धमा छलफल गर्न सकिन्छ भनेर सरकारले भनिराखेको अवस्थामा र डा.गोविन्द केसीले अगाडि सारेका अधिकांश मागहरू पूरा भइसकेको सन्दर्भमा नेपाली कांग्रेस यसरी आक्रामकरुपले प्रतिपक्षको जिम्मेवारपूर्ण भूमिकाबाट समेत बाहिरिंदै कम्युनिष्ट सरकारविरुद्धको अन्तर्राष्ट्रिय षड्यन्त्रको गोटी हुन थालेको घटनाक्रमले देखाउन थालेको छ ।

केही समय अगाडिसम्म प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकिराखेको नेपाली कांग्रेस यसरी रातारात सरकारका विरुद्धमा आक्रामकरुपले प्रस्तुत हुन थाल्नु र दुईतिहाइको समर्थन प्राप्त सरकारलाई ‘‘समाप्त पारिदिन्छु’’ भन्ने धम्की दिन थाल्नुको पछाडि कांग्रेस दृश्य अदृश्य बाह्यशक्तिको आडमा भरोसामा राजनीतिक परिवर्तनकाविरुद्धमा समेत चलखेलमा रमाउन थालेको रुपमा राजनीतिक विश्लेषकहरूले बुझ्न थालेका छन् ।

वर्तमान सरकार गठन भएपछि अन्तर्राष्ट्रिय चलखेलसमेत घटेर गएको महसुस हुन थालेका थियो । यसैगरी अमेरिकाजस्तो महाशक्ति राष्ट्रले समेत दुई दशक पछाडि नेपालका परराष्ट्र मन्त्रीलाई छलफलका लागि वाशिङ्टन बोलाएर यो क्षेत्रमा नेपाल राष्ट्रको महत्वलाई अमेरिकाले समेत महसुस गरेको थियो ।

यसरी केपी ओली सरकार गठन भएको एक बर्ष पनि नपुग्दै नेपालले गुमाएको अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनः प्राप्त गर्न थालेसँगै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगरी र नेपाली जनताले सहमतिमा विसर्जन गर्ने मनस्थिति बनाइराखेको अवस्थामा युरोपेली युनियनका मुलुकहरूसँगै संयुक्त राष्ट्र संघले समेत डेढ दशक अगाडिको द्वन्द्वकालीन मुद्दा ब्यूँताउने र नेपाली जनताका बीचमा वैमनस्यता फेरि कायम गर्ने नियत राखेर बेमौसमको बाजा बजाउँदै संयुक्त वक्तव्य प्रकाशित गरेका थिए ।

साथै, डा. गोविन्द केसीले समेत यही डेढ दशक अगाडिको द्वन्द्वकालीन मुद्दा ब्यूँताउने जुन माग अगाडि तेस्र्याएका छन्, यसबाट नै स्पष्ट हुन्छ कि कुन तत्वले नेपालमा राजनीतिक अस्थिरतामा बढाएर खेल्न खोजिरहेको छ भन्ने कुरा । (साँघु साप्ताहिक, माघ १४)

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्