पराजयको भयले नेविसंघ स्ववियु निर्वाचनबाट डरायो



काठमाडौं, माघ १५ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताउनु भयो । उहाले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिनुभयो । उहाले भन्नुभयो, ‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’

विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उहाले विश्वास दिलाउनु भयो । उहाले भन्नुभयो,‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’ नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उहाले गम्भिर आरोप लगाउनु भयो ।

देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उहाको भनाई थियो । ‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन् ।’ उहाको भनाई छ ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भन्नभुयो,‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन् ।’ उहाले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको व्यंग्य गर्नुभयो ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्