दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग


 


काठमाडौँ, २३ माघ ।
नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा भारतमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कुँवरलाई जापान परिवारले आज आर्थिक सहयोगार्थ रु एक लाख १६ हजार ९७० सहयोग गरेको हो । जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीबाट सङ्कलित गरी सो रकम कुँवरलाई हस्तान्तरण गरिएको हो ।

संस्थाका संरक्षक पदम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्रप्रसाद सिलवालको सक्रियतामा सङ्कलित रकम हाँस्य टेलिशृृङ्खला ‘मेरी बास्सै’का कलाकार लेखान्त भुसाल र दिवाकर भण्डारीको हातबाट कुँवरलाई उक्त रकम प्रदान गरिएको हो ।

बुद्धिमानको सहयोगका लागि हालसम्म करीब रु १५ लाख रकम सङ्कलन भइसकेको सहयोग समितिले जनाएको छ । दुई हात र एक खुट्टा हाल्नका लागि करीब रु एक करोडभन्दा बढी रकम लाग्ने कुँवरको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको आग्रह गर्दै काठमाडौँ आएका छन् । रासस

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्