पाँच वर्षभित्र पूर्व-पश्चिम रेलमार्ग, ६ महिनाभित्र केरुङ-काठमाडौं रेलमार्गको डिपिआर


 


सिन्धुली, माघ २४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका कमलाखोँचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो ।

“बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ,” मन्त्री महासेठले भन्नुभयो ।

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयो । पाँच वर्षभित्र पूर्व-पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार भइसक्ने दाबी उहाँले गर्नुभयो । जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले बताउनुभयो ।

कमलाखोँचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाइ ५०० मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडौंका प्रबन्धक निर्देशक राजेन्द आचार्यले बताउनुभयो । पुल निर्माण भएको ७५० मिटर दायाँ-बायाँ नदी नियन्त्रणसमेत गरिएको छ ।

पुलको चौडाइ १०.५ मिटर छ भने १.५ मिटर दुवैपट्टि फुटपाथ छ । पुल निर्माण गर्न रु ६१ करोड २२ लाखमा सम्झौता भएकोमा हालसम्म रु ६० करोड ९० लाख निकासा भएको उहाँको भनाइ थियो ।

कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४०० मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्