कांग्रेस केन्द्रीय समितिमै अर्बौंको भ्रष्टाचार गुपचुप



काठमाडौं माघ २४
नेपाल वायुसेवा निगमले खरीद गरेको दुईवटा वाइडबडी एयरबसमा नेपालकै इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको छानबिन उपसमितिले ठहर गरेको छ । यो भ्रष्टाचार प्रकरणमा आफ्नो नाम समेत जोडिन पुगेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रकरणलाई ढिसमिस पार्ने कसरतमा लागेको स्रँेत बताउछ ।

नेपाली कांग्रेसले स्व.गिरिजा र स्व.सुशील कोइरालाको नाममा रहेका अस्पतालहरू संघीय सरकारको मातहतमा राख्नुपर्ने गरेको मागलाई सरकारले सम्बोधन गरिसकेपछि पनि र डा.गोविन्द केसीले आमरण अनसन फिर्ता लिइसकेपछि पनि सडक संघर्ष जारी राख्ने निर्णय यो प्रकरणलाई ओझेलमा पार्नका लागि गर्न थालिएको हो भन्ने गरिन्छ ।

यस सम्बन्धमा २०७५ माघ १४ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा डा.रामशरण महतले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नाम समेत जोडिन थालेकाले यो वाइडबडी प्रकरणको वास्तविकता छानबिनको आधारमा सार्वजनिक गर्न सरकारलाई दबाब दिनुपर्ने विचार व्यक्त गरेका थिए ।

सभापति देउवाको नाम समेत मुछिंदा सभापतिसँगै कांग्रेसको समेत बदनाम हुन थालेकाले यो प्रकरणको वास्तविकता स्वतन्त्र छानबिनबाट सार्वजनिक गर्न सरकारलाई दबाब दिनुपर्ने नेता महतको विचारलाई सभापति देउवाले छलफलमा समेत समावेश गरेनन् ।

यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बुढीगण्डकी निर्माणको ठेक्का चिनिया गेजुवा कम्पनीलाई दिंदा तथा ५ नम्बर प्रदेश सरकारले मोटर खरिद गर्दा ठूलो भ्रष्टाचार भएको भन्दै यी प्रकरणहरूको छानबिन हुनुपर्ने माग गरेको थियो । तर, बुढीगण्डकी र ५ नं.प्रदेशको मोटर खरिदमा भ्रष्टाचार भएको ठहर गर्ने नेपाली कांग्रेस ३ अर्ब ३५ करोड भ्रष्टाचार भएको संसदीय छानबिन समितिले गरेको वाइडबडी प्रकरणका सम्बन्धमा भने मौन बसेको छ ।

सभापति देउवाको नाम समेत जोडिएकाले यो विषयमा कांग्रेस मौन बसेको हो । दुईवटा वाइडबडी विमान खरिदका निम्ति पहिलो किस्ता लगभग ९ अर्ब रुपैंया एयरबस कम्पनीलाई पठाउँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए र त्यसताका पहिलो किस्ता पठाउने निर्णय गर्दा पर्यटन मन्त्रालयको जिम्मेवारी पनि तात्कालीन प्रधानमन्त्री देउवाले नै सम्हालेका थिए । (साँघु साप्ताहिक, माघ २१)

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्