सुनसरीको चतरामा आजदेखि श्रीराम तारब्रम्ह महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्ने


 


सुनसरी, माघ २६

सुनसरीको चतरामा आजदेखि श्रीराम तारब्रम्ह महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक हुने भनिएको श्रीराम तारब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपछि विश्वकै दोस्रो ठुलो महायज्ञ हुने जनाईएको छ ।

महायज्ञको सम्पुर्ण तयारी पुरा भईसकेको छ । सुनसरीको चतराधाममा हुन लागेको महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । महायज्ञको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हिजै बेलुका इटहरी आउनुभएको थियो ।

उहाँ इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा बस्नुभएको थियो । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगतगुरु श्रीरामानन्दाचर्य सेवा पिठको आयोजनामा हुन लागेको महायज्ञको आज दिउँसो राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

करिब एक लाख भक्तजन आउने अनुमान गरिएको महायज्ञमा भारतसहित विभिन्न मुलुकबाट हिन्दु धर्मगुरु लगायतको सहभागीता रहने बताईएको छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटनलाई जोड दिएर आयोजना हुन लागेको महायज्ञको सुनसरीको चतराबाट हरित योजना समेत अघि सार्न लागिएको छ ।

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्