शिक्षक र कर्मचारीले राजनीतिक दलका सदस्यता लिए बर्खास्त,


 


काठमाडौँ माघ २७
राजनीतिक दलको सदस्यता लिने शिक्षक कर्मचारीलाई अब सेवाबाट बर्खास्त गरिने भएकोे छ । राजनीतिक दल वा भात्रृ संगठनको सदस्य बन्ने निजामती कर्मचारी र शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले बिधेयकलाई संसदमा पठाएको छ । शुक्रबार संसदमा पुगेको विधेयकमा निजामती कर्मचारीले हडताल र बन्द गर्न नपाउने प्रावधान छ । विधेयकका बहालवाला कर्मचारीले डिभी पीआरको आवेदन दिएपनि बखास्तमा पर्ने भएका छन् ।

तल्लोदेखि माथिल्लो तहसम्मकै निजामती कर्मचारी दलका झन्डा बोकेर राजनीतिक गतिविधिमा होमिन थालेपछि सरकारले नियमन गर्न खोजेको हो । विधेयकमा ‘राजनीतिक गतिविधिमा भाग लिए वा कुनै राजनीतिक पदका लागि उम्मेदवार बने’ सेवाबाट बर्खास्त गरिने प्रस्ताव छ । त्यस्तै राजनीतिक दलको चुनावको प्रचारप्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन, कसैलाई भोट माग्न, घेराउ गर्न, दबाब दिन, कलम बन्द गर्न, सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले अनशनमा बस्नसमेत कर्मचारीलाई प्रतिबन्ध लगाइएको छ ।
निजामती कर्मचारीका तर्फबाट ट्रेड युनियनको राजनीति गर्नसमेत बन्देज लगाइएको छ । दलका शुभेच्छुक संगठन बनाउन भने छुट छ । पार्टीअनुसारका ट्रेड युनियन खडा गरी राजनीति गर्ने र नाजायज माग पूरा गराउन राजनीतिक नेतृत्व र सरकारलाई दबाब दिने क्रम बढेपछि रोक लगाउन खोजिएको हो ।

निजामती कर्मचारीको हकहितका लागि एउटा मात्र आधिकारिक ट्रेड युनियन हुने र त्यसैमार्फत सरकारसँग संवाद र सहमति गर्ने प्रावधान राखिएको छ । विधेयकमा आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै समूहले माग राख्न नपाउने र आधिकारिक युनियनमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने उल्लेख छ । युनियनको निर्वाचन हरेक तीन वर्षमा हुने प्रस्ताव गरिएको छ । युनियनका पदाधिकारी र सदस्य रहेका कर्मचारी पदीय जिम्मेवारीबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । ‘कुनै पनि कर्मचारीले पदीय जिम्मेवारीबमोजिमको कामबाट उन्मुक्ति पाउने छैन,’ विधेयकमा भनिएको छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्