मर्ला र खाउँला भन्ने नसोच्नु – प्रम ओली


 


काठमाडौं फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको बताएका छन् । तर, त्यो सफल नहुने उनको दाबी छ । बुधबारधवार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका हुन् ।

‘भैंसी हेरेर एउटा जीवले भन्छ, मरेपछि खाउँला । तर भैंसी मर्नुको सट्टा झन्झन् मोटाउँछ, ब्याउँछ, पाडापाडी पनि पाउँछ । अनि त्यो जीवले भन्छ, म यही दिन देख्नका लागि बाँचेको थिएँ ? तर भैंसी पाल्नेले त्यही दिन देख्नका लागि पालेको हो । र, नेपालीले देख्न चाहेको पनि त्यही दिन हो ।’ देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब यो यात्रा नरोकिने बताएका छन् । नेपाल विद्वान् र ऋषिमुनीहरुको देश भएपनि पछिल्लो समय अपराध र भ्रष्टाचारले शिर झुक्ने अवस्था आएको प्रधानमन्त्रीको गुनासो थियो । उनले प्रश्न गरे ‘नेपालीहरु विद्धानको सन्तान, ऋषिमुनीको सन्तान तर अहिले के भएर गए ?’

देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे । उनले भने ‘यदि सबैले समुचित काम पाउने हो भने यो गरीबी रहने थिएन । हामी नेपाललाई परिवर्तन र रुपान्तरण गर्न चाहन्छौँ । गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहन्छौँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि उनले दाबी गरे । प्रधानमन्त्री ओलीले बेरोजगारीप्रति लक्षित गर्दै ‘भारी टाउको बिना ज्याला बोक्ने दिनको अन्त्य’ गरिने बताए । अहिले सरकारसँग स्पष्ट नीति, गन्तब्य र कार्यदिशा भएकाले अब विकासको लहर समातिसकेको उनले दाबी गरे ।

सरकारले अब प्रत्येक फागुन १ गते श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाउने उल्लेख गर्दै ओलीले विदेशसँग कुनै कार्ड प्रयोग नगरेकोसमेत बताए । असन्तुष्टि फैलाउने र भ्रम फिजाउँने काम आग्रगमनको पक्षमा नभएको उनको भनाइ थियो । देश विकासको बाटोमा लम्केको उल्लेख गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने दाबी ग रे। ओलीले नेपालमा गरिबि र बेरोजगारी रहन नहुने बताए ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्