‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा, चैत्र १ गतेबाट बेजोरगार व्यक्तिको दर्ता सुरु


 


काठमाडौं, १ फागुन : सरकारले बरोजगार युवाहरुलाई लक्षित गर्दै वर्षमा न्यूनमत १ सय दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कदम अगाडि बढेको दाबी पनि गरे ।

सरकारको प्राथमिकतामा रोजगारी नै रहेको भन्दै सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिने घोषणा गरेको हो । रोजगार दिन नसकेको अवस्थामा निर्वाह भत्ता दिने भनिएपनि उक्त भत्ताका लागि निकै कडा मापदण्ड बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भत्ता पाउँदैन ।

तर यो योजनाका लागि चैत्र १ गतेबाट बेजोरगार व्यक्तिको दर्ता सुरु हुनेछ । यसका लागि रोजगार सेवा केन्द्रहरूले आफ्नो स्थानीय तहमा रहेका बेरोजगारको सूची संकलन गर्नेछन् । अब प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएसँगै पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन हुनेछ ।

संसदको वर्षे अधिवेशनले ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजक नियुक्त हुनासाथै सरकारले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र ‘ स्थापना गरिने छ । प्रधानमन्त्री ओलीले आजको दिन ऐतिहासिक भएको भन्दै फागुन १ लाई रोजगार दिवसको रुपमा मनाउने बताए ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्