इन्धनबापतको रकम खल्तीमा हालेर मन्त्रीले लिए इन्धनमा दोहोरो सुविधा


 


काठमाडौं फागुन ८
गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । लेखाको निर्देशनअनुसार मन्त्रालयहरूले चालू आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले नयाँ पत्रिकालाई बताए ।

सातसदस्यीय मन्त्रिपरिषद्का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयबाट इन्धन सुविधा लिएका छैनन् । सामाजिक विकासमन्त्री नरदेवी पुनले भने तेल हाले–नहालेको जवाफ मन्त्रालयले लेखा समितिलाई अहिलेसम्म बुझाएको छैन । मन्त्रिपरिषद्को निर्णयअनुसार गण्डकी प्रदेश सभाले मासिक मुख्यमन्त्रीले २५०, मन्त्रीले १५० र राज्यमन्त्री तथा सहायकमन्त्रीले १२५ लिटर इन्धनका लागि रकम पाउने व्यवस्था पारित गरेको थियो ।

तर, मन्त्रीहरूले रकम पनि बुझ्दै मन्त्रालयबाट थप तेल सुविधा लिँदै आएका छन् । उनीहरूले जिल्लामा हुने कार्यक्रममा जाँदा बढी तेल हाल्ने गरेको देखिएको ती सांसदले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुनै ऐन वा निर्णयविनै मन्त्रीले तेल राखेको रिपोर्ट पेस गरेको छ । अन्य मन्त्रालयले भने कारण खुलाएका छैनन् । कारण नखुलाउनेलाई समितिले पुनः स्पष्ट पारेर जवाफ पठाउन निर्देशन दिएको छ ।

प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले ४ फागुन ०७४ मा तथा आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले १२ चैतमा पद तथा गोपनीयताको शपथ लिएका थिए नयाँ पत्रिका दैनिकमा खबर छ  ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्