नख्खु बम विष्फोट – एकजनाको मृत्यु, संलग्न भएको आशंकामा दुई जना प्रक्राउ
काठमाडौँ, फागुन ११
ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो ।
बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
यसैविच, विष्फोटमा एनसेलका कर्मचारीकै हात हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी श्रोतका अनुसार सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गर्छन । उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन्। त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ।
कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, संकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको आशंका प्रहरीले गरेको हो। विस्फोटमा संलग्न भएको आशंका र्दुइ जनालाई प्रक्राउ गरेको छ । तर उनिहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार












