बौद्धमार्गीको भेषमा बेधर्मीहरू !


 


विभुरत्न शाक्य काठमाडौं फागुन १२
नेपालमा हिन्दू सनातन धर्म र बौद्धधर्म एक–अर्काका पूरक बनेर एक–अर्कामा भर परी चल्दै आएका धर्म हुन् । को हिन्दू को बौद्ध धर्मावलम्बी भनेर थाहै नपाउने गरी नेपालले सहिष्णुताको बाटो लिइरहेको थियो, तर आज त्यही सहिष्णुताका आडमा नेपाली समाजमा ठूलो धार्मिक विचलन सुरु भएको छ, जसको परिणाम भविष्यमा निकै नकारात्मक हुने निश्चित छ ।

नेपाल प्राचीनकालदेखि नै हिन्दूको र बौद्धहरूको देशका रूपमा चिनिँदै आएको अनि यी दुईमा भेदभाव नगरी र इष्र्याको भावना नराखी चल्दै आएको देश हो । अहिले पनि यी दुई सँगै अघि बढ्दै छन् र यी दुई एक–अर्कामा कुनै भेदभाव छैन ।

यस्तो सुन्दर र सहनशील हाम्रो सनातन धार्मिक परम्परामा हाल आएर ठूलो चलखेल शुरु भएको छ । विदेशीहरूको स्वार्थमा हाल नेपालमा धार्मिक हस्तक्षेप सुरु भएको छ, जसका लागि विभिन्न सामाजिक संस्थाको मुखुण्डो लगाएर धर्म प्रचारकहरू नेपाल भित्रिएका छन् । उनीहरू हिन्दू र बौद्ध धर्मावलम्बी हामी नेपालीबीचको सहिष्णुतालाई निसाना बनाएर एक–अर्कामा मतभेद गराउने, छुट्याउने र यी धर्महरू सिद्धान्त र दर्शन नभएका धर्म भनेर प्रचार गर्नेजस्ता कुकृत्यमा मरिमेटेर लागेका देखिन्छन् ।

वास्तवमा उनीहरू आफैँ नै धर्ममा आस्था भएका व्यक्ति नभई तलबी प्रचारक हुन् जो धर्मप्रचारक त्यस्ता संस्थाका सदस्य भएर हजारौँको सङ्ख्यामा नेपालमा काम गर्दै छन् । नेपाल सरकारले त्यस्ता संस्था र व्यक्तिलाई अध्यागमन विभागमै निगरानीमा राखेर त्यहाँबाट फिर्ता पठाउनेजस्ता कार्य गर्न जरुरी भइसकेको छ ।

वास्तवमा हामी नेपालीको कमजोरीका कारणले नै हाम्रो देशमा त्यस्ता तत्वहरूले घुस्ने र मौलाउने मौका पाएका हुन् । विदेशी भनेपछि हामी त्यत्तिकै हुरुक्क हुन्छौँ र उनीहरूका भनाइलाई सत्य ठानेर पछ्याउने हाम्रो बानी छ । यसले गर्दा आफ्नो संस्कार र धर्म छोडेर त्यस्ता कुतत्वहरूको धर्म–संस्कारतिर नजानीकनै ढल्किएको पत्तो नै पाउँदैनौँ ।

त्यस्ता तत्वहरूले हिन्दू र बौद्ध धर्मावलम्बी हामी नेपालीलाई अलग–अलग बाटोमा पु¥याएर ‘फुटाऊ र राज गर’को नीति लिएको देखिन्छ । मानवताका नाताले पनि हिन्दू र बौद्ध धर्मावलम्बीहरूले समयमै विचार गरी यस्तो दुस्प्रयास रोक्नुपर्ने देखिन्छ ।

नेपालको यस्तो परम्परागत धर्म र सद्भावलाई बिथोल्न धेरै शक्ति र समूह लागेका छन् । कोही अर्को धर्मको आड लिएर अनि कोही हिन्दू बौद्धधर्मलाई बदनाम गराएर त्यस्ता कार्यमा लागेका देखिन्छन् । यति मात्र होइन, कोही भने बुद्धकै नाम लिएर पनि त्यस्ता कार्यमा लागेका पाइन्छन् । विशेषगरी जापान र कोरियाका केही संस्थाहरू नेपालमा त्यस्ता कार्यमा लागेका देखिन्छन् । त्यस्ता संस्थाहरू बुद्धधर्मबारे ज्ञान दिन भनेर खोलिन्छन् जसको अन्तिम लक्ष्य धर्म परिवर्तन गराउने देखिन्छ । यसका लागि तिनीहरू सक्रिय भएर लागेका छन् ।

बुद्धकै जन्मभूमि नेपालमा बुद्धकै विचार बाहिरी देशबाट कसरी आयात हुन सक्छ ? यो सबै नेपालीले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय भएको छ । आर्थिकलगायत अन्य प्रलोभनमा परेर नेपाली त्यस्ता बनावटी कुरामा पछि लागेका छौँ ।

बुद्धकै जन्मभूमि नेपालमा बुद्धकै विचार बाहिरी देशबाट कसरी आयात हुन सक्छ ? यो सबै नेपालीले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय भएको छ । आर्थिकलगायत अन्य प्रलोभनमा परेर नेपाली त्यस्ता बनावटी कुरामा पछि लागेका छौँ । आफैँमा रहेको सुगन्ध थाहा नपाएर बाहिर सुगन्ध खोज्दै सिकारीको सिकार भएर अकालमै मर्नुपरेको कस्तुरीको जस्तै हाम्रो अवस्था हुँदै छ । बौद्धधर्मको मुखुण्डो लगाएर नेपाल छिरेका त्यस्ता कुतत्वलाई समयमै चिनेर तिनीहरूका दुष्कार्यप्रति हामी सबै नेपाली सतर्क हुनु जरुरी छ । हिन्दूधर्मलाई गाली गरेको आरोपमा दुई महिनाअघि मात्र दुई जापानी महिलालाई सरकारले देश छोड्न आदेश दिएको थियो, तर त्यो पर्याप्त छैन । किनभने त्यसबाहेक अन्य देशका धेरै व्यक्ति र संस्थाहरू नेपालमा धर्म प्रचारमा लागेका छन् ।

कतिपय विदेशी संस्था र व्यक्तिहरू धर्मका आडमा राजनीति र व्यापार गरिरहेका छन् जो अरूलाई प्रलोभनमा पारेर/फसाएर आफ्नो स्वार्थ पूरा गरिरहेछन् । त्यस्ता कुतत्वहरूलाई समयमै चिनेर बाहिर पठाउनु आवश्यक छ । जो नेपालका गाउँगाउँमा गएर सोझा नेपालीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउँदै छन् । सनातन हिन्दूधर्म तथा बौद्धधर्म हाम्रा पहिचान हुन् जसमा नेपाली माटोको सुगन्ध छ र यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।

नेपालको धार्मिक क्षेत्रमा हुने गरेका यस्ता चलखेलको दूरगामी असर निकै खतरनाक हुने प्रस्ट छ । यसले एकातिर नेपालको मौलिक धर्म–संस्कृतिलाई समाप्त पार्नेछ भने अर्कोतिर हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन व्यवसायलाई नकारात्मक असर पार्नेछ । बुद्धको जन्मस्थान नेपालबाट ‘बुद्ध दर्शन’ अन्य देशमा जानुपर्नेमा उल्टै बाहिरबाट नेपालीलाई बुद्ध दर्शन सिकाउने चलखेलको अन्तिम लक्ष्य इसाईकरण नै भएको देखिन्छ । पर्यटन व्यवसायलाई संवद्र्धन गर्दै देशको आर्थिक उन्नतिका लागि हाम्रो आफ्नै मौलिक धर्म र संस्कृतिमा हामी रमाउन सक्नुपर्छ । दशजना विदेशी धर्म प्रचारकका कारणले लाखौँ पर्यटकलाई नकारात्मक असर पार्छ र पर्यटकको आगमनमा कमी हुने हुनाले देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ ।

यति मात्र होइन, त्यसरी आयातीत धर्मले एकातिर हाम्रो मौलिकतालाई समाप्त पार्छ भने अर्कोतिर दुई देशको सम्बन्धमा पनि चिसोपन आउन सक्छ । यस्तो अवस्थामा धर्म प्रचारकका देश र संस्थालाई कुनै हानि हुँदैन, किनभने तिनीहरू यस सम्बन्धमा केही बोल्दैनन् र हरेक क्षेत्र वा दृष्टिले हामीले नै हानि सहनुपर्छ ।

हाल नेपालमा कोरियाली र जापानी बढी धर्म प्रचारको चलखेलमा लागेका देखिन्छन् । विदेश लाने सपना देखाएर, पैसाको प्रलोभनमा पारेर अनि हिन्दू, बौद्धधर्ममा दोष देखाएर विदेशी धर्मको प्रचार नेपालमा भइरहेको छ । यसप्रति समयमै सतर्क भएर हाम्रो मौलिक धर्म, संस्कृति र जीवनशैलीलाई जोगाउनुपर्छ । किनकि, त्यो नै हामी नेपालीको अत्यन्त महत्वपूर्ण र मौलिक पहिचान हो । कसैको उपनिवेशमा बस्नु नपरेको भनेर गर्व गर्ने हामी नेपालीले आज धार्मिक दास बनाउने विदेशी षड्यन्त्रलाई चिनेर आफू र आफ्नो देशलाई त्यसबाट मुक्त पार्नु अपरिहार्य छ । घटना बिचारबाट 

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्