बाँदर आतंकबारे प्रदेश १ को संसद्मै कुरा उठ्यो !



विराटनगर, फागुन १२

भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर व्यवस्थापनमा समस्या भएको प्रदेश १ का सांसदहरूले बताएका छन्।

जिल्लाका विभिन्न गाउँमा बाँदरले आतंक मच्चाएपछि किसानको सुरक्षाकालागि स्थानीय तहको प्रयासमा बाँदर नियन्त्रण अभियान चलाएको छ। शनिबारसम्म टोलीले ६३ बाँदर नियन्त्रणमा लिइसकेको छ।

जालमा परेका बाँदरलाई फलामे पिंजडामा थुनेर राखिएको छ। तर ठूलो संख्यामा समातिने बाँदरलाई कता लैजाने भन्ने अर्को समस्या सिर्जना भएको हो। नियन्त्रणमा लिइएका बाँदरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले उपाय खोज्नु पर्ने भन्दै आइतबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा खोटाङका साँसद रामकुमार राईले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

बाँदरको आतंकका कारण खोटाङबाट कयौं मानिसहरु बसाई सरेर हिंडिसकेकाले बसाई सराइलाई रोक्न स्थानीय सरकारले प्रयास थालेको भए पनि अहिले विशेषज्ञ टोलीको सहयोगमा समातिएका बाँदर कता लैजाने र के गर्ने भन्ने नयाँ समस्या देखिएको प्रदेश सरकारले तत्काल ध्यान दिन आग्रह गरे। उनले समातिएका बाँदर संख्या कम भएका तेस्रो मुलुकहरूलाई हस्तान्तरण गर्ने वा राष्ट्रिय निकुञ्जहरुमा व्यवस्थापन गर्ने तर्फ पहल गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्