१७ वर्षे ठिटोले ‘सहसचिव’ बनेर यसरी बनाए प्रहरी र जनप्रतिनिधिलाई ‘उल्लु’


 


काठमाडौं फागुन १४

ढाँटका अनेका ‘आइडिया’ भन्ने उखान गाउँघरमा निकै चल्छ । एक १७ वर्षे ठिटोको यस्तै ठगी शैली सुन्दा अचम्म त पार्छ नै प्रहरीदेखि जनप्रतिनिधिसम्मलाई ‘उल्लु’ बनाएको कुराले चकित बनाउँछ ।

एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई झुक्याएका हुन् ।

यसरी प्रहरीदेखि जनप्रतिनिधिलाई उल्लु बनाउन सक्ने १७ वर्षका किशोर झापाका झापाका सन्देश रम्तेल हुन् । उनले प्रहरीको स्कर्टिङ समेत लिएर सरकारी नम्बर प्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेका छन् । जिप्रका तनहुँले भने यस विषय कुनै प्रतिक्रिया दिएको छैन ।

यसरी खुल्यो नक्कली सहसचिवको मुकुण्डो

मुस्ताङदेखि पोखरा फर्केर लेक साइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, तल उनको सहसचिवको मुकुण्डो उत्रियो । होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परेका छन् ।

होटलमा पैसा नतिर्ने र बिलमा झगडा गर्ने गरेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । होटल पुगेर अनुसन्धान थालेपछि उनको ठगी धन्दा प्रहरीले थाहा पाएको थियो । वडा प्रहरी कार्यालय बैदामले चालकसहित उनलाई पक्राउ गरेको हो ।

उल्लु बनाउँदै सरकारी भात खाँदै
सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा देखाएका भरमा सरकारी भात खानेदेखि अरु सरकारी सुविधा लिने गरेको पाइएको छ । प्रहरीसँगको बयानमा उनले १०० नम्बरमा फोन हानेर स्कर्टिङको सुविधा लिने गरेको बताएका छन् ।

म्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

उनले वीरगञ्जमा नक्कली कार्ड बनाएको जानकारी दिएका । तेन्जिङ हिलारी होटलमा सामान राखेर रम्तेल सरकारी नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुगेको स्रोतको भनाइ छ ।

त्यति मात्रै होइन, रम्तेलले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भन्दै झुक्याएका थिए । उनले उपमेयर गुरुङलाई भेटेर महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

उनले होटलमा आफूले खाएको पैसा राष्ट्रिय बाल अधिकार संरक्षण समितिले होटलको खातामा हालिसकेको बताउँदै रम्तेल उम्कन खोजेका थिए । तर, होटल मालिकले शंका लागेर प्रहरी बोलाएपछि उनको अहिलेसम्मको ढाँटको खेती छुताछुल्ल भएको हो ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्