फेला पऱ्यो बाबा गोरखनाथको चोरी गरिएको मूर्ती



काठमाडौं फागुन १५
काठमाडौंको पशुपतिनाथ मन्दिरनजिक रहेको हंशमण्डपबाट गत शनिबार बेपत्ता पारिएको बाबा गोरखनाथको पुरानो मूर्ती एपीएफ टोलीले मंगलबार फेलापारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करिव तीन सय मिटरपूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह पौने पाँच बजे उक्त मुर्ती फेला पारेको जनाइएको छ ।

उक्त मुर्ती करिव ३५ के.जी. तौलको रहेको छ । एपीएफका अनुसार गस्तीमा रहेको टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र ओडार जस्तो ठाउँबाट मुर्ती बरामद गरेको हो । सो ठाउँ गोपाल बाबाको आश्रमभन्दा माथि रहेको चिहानडाँडामा रहेको छ ।

पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई व्यक्ति मुर्ती छाडी भागेका थिए । बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ ।

मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको बताइएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्