हेलिकप्टरको सिट नपाउँदा जो बाँच्न सफल भए !


 


काठमाडौं, फागुन १५
सांसद विजय सुब्बा पनि बुधवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै एउटै हेलिकप्टरमा जाने तय भएको थियो ।बुधबार विहान भयो । सुब्बा जाने तयारीमा नै थिए । अब उनी मन्त्री अधिकारीको फोन मात्र कुरिरहेका थिए ।

मन्त्री अधिकारीले तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए ।

तर जब बिहान राज्य व्यवस्था समितिको बैठकका समयमा मन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको थाहा पाएपछि मात्र उनले थाहा पाए सिट नपुगेका कारण उनलाई जाने निम्ता नआएको रहेछ । मन्त्री अधिकारी गइसकेका रहेछन् ।

फोन कुरिरहेका उनलाई एकाएक गृह सचिव प्रेमकुमार राईले अप्रत्यासित यस्तो खबर सुनाएका थिए ।

उनी भन्छन्, ‘खबर थाहा पाउँदा छाँगाबाट खसे झै भएँ ।’ उनी थप्छन्, ‘मेरो त होस हवास नै उड्यो । अझै पनि डर लागिरहेको छ । संयोगले बाँचे ।’

‘सिट भएको भए म पनि जान्थेँ । मेरो अवस्था पनि त्यस्तै हुन्थ्यो होला,’ दुखद् घटनालाई सम्झिँदै उनले भने, ’यो सम्झँदा त एकदमै डर लाग्दो रहेछ ।’

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्