ओभरलाेड बाेकेर किन उडाइयाे पाथिभरातिर ? सबैका ‘आशलाग्दा’ नेता अधिकारीकाे मृत्युमा कसले के भने ?


 


काठमाडाैँ फागुन १६
बुधबार ताप्लेजुङमा भएकाे हेलिकाेप्टर दुर्घटना इतिहासमै बिर्सन नसकिने घाउ बनेकाे छ ।

तेह्रथुमकाे चुहानडाँडा विमानस्थलकाे स्थलगत अध्ययन गर्न पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी र उनको टोली लिएर एयर डाइनेस्टीको एच १२५ नम्बरको हेलिकप्टर काठमाडाैँबाट उडेकाे थियाे । चुहानडाँडामा कार्यक्रम सकेर ताप्लेजुङकाे प्रसिद्ध मन्दिर/तीर्थस्थल पाथिभरा दर्शनमा गई फर्कने क्रममा साेही नजिककाे दाह्रेढु‌ंगा भन्ने ठाउँकाे भीरमुनि दुर्घटनाग्रस्त भयाे । साे दुर्टनामा मन्त्री अधिकारी सहित ७ जनाकै दु:खद निधन भएकाे छ ।

दुर्घटना के कारण भएकाे हाे, यसकाे वास्तविक विवरण आउँदै गर्ला । तर प्रारम्भिक अनुमानमा दुर्घटनाकाे मुख्य कारण ‘खराब माैसम’ र ‘ओभर लाेड’ रहेकाे बताइएकाे छ । एक त खराब माैसम, अर्काे कुराे हिउँ परिरहँदा पनि ७ जना बाेकेर हाइ अल्टिच्युडमा रहेकाे पाथीभरा दर्शन लागि लगिनुले दुर्टनालाई केही रहस्यमय बनाइएकाे छ । यसबारे विभिन्न जानकारहरुले टिप्पणी पनि गरिरहेका छन् ।

नेकपाका नेता तथा दिवंगत मन्त्री रविन्द्रका नजिकका साथी रहेका याेगेश भट्टराईले बुधबारै सामाजिक सञ्जालमा याे प्रश्न उठाएका थिए । उनले भनेका छन्, ‘भीआइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ उनी ताप्लेजुङबाटै निर्वाचित नेकपाका सांसद पनि हुन् ।

याेगेश भट्टराईकाे यस धारणामा धेरैले समर्थन जनाएका छन् र शेयर गरेका छन् । प्रश्न जायज हाे, प्राविधिक कुरा समेत ख्याल नगरी उडाइनुले रहस्यमय लागेकाे भन्दै कमेन्टहरु अाए छन् ।

दिवंगत मन्त्री रविन्द्र अाफैँले पनि प्रधानमन्त्री केपी ओलीकाे निर्देशनमा चुहानडाँडा अाएकाे बताएका थिए । चुहानडाँडा प्रधानमन्त्री ओलीकाे जन्मस्थल हाे ।

चुहानडाँडामा आयाेजित समाराेहमा उनले बुधबार सम्बाेधन (जुन उनकाे अन्तिम सम्बाेधन बन्याे) गर्दै खराब माैसमलाई इ‌ंगित गरेर भनेका थिए, ‘बाहिर पानी परिरहेकाे छ । कार्यक्रम सकेर चाँडै काठमाडाैँ फर्किनु छ ।’ करिब १५ मिनेट भाषण गर्दा उनले काठमाडौँ पुग्ने हतारो देखाइरहे पनि अन्तमा कार्यक्रम सकेर सीधै काठमाडाैँ नआई किन पाथिभरा दर्शनका लागि उडाइयाे भन्ने प्रश्न यहाँ स्वाभाविक उठ्छ । याे मन्त्री अधिकारीकै इच्छा थियाे कि अरुकाे ? यसकाे उत्तर अब कसले देला !

पूर्वप्रशासकसमेत रहेका भीम उपाध्यायले पनि आफू पाथिभरा जाँदाकाे अनुभव शेयर गर्दै खराब माैसमका बाबजुद ओभरलाेड किन बाेकाइयाे भनी प्रश्न गरेका छन् । उनले पनि पाथिभरा उडान भर्दा हेलिकाेप्टरबाट केही जनालाई सुकेटार विमानस्थलमै ओरालेर मात्र हेलिकाेप्टर हलुका बनाइ पाथिभरा उडान गरिन्थ्याे भनी स्मरण गरेका छन् ।

‘अाज दुर्घटनाग्रस्त हेलिकप्टरको कूल क्षमता पाईलटसहित ६ जना हो र पाथीभराको अल्टिच्युड र खराब मौसमका कारण यात्रुसंख्या अझै घटाई जहाज हलुका राख्न पर्नेमा झन् ओभरलोड गरी ७ जना कसरी उडाउने निर्णय गरे ?’ उपाध्यायाले प्रश्न गरेका छन् ।

बुधबारकाे चुहानडाँडा कार्यक्रममा दिवंगत मन्त्री अधिकारीसँगै साेही मञ्चमा रहेका सोही निर्वाचन क्षेत्रका प्रदेश- १ का सांसद तेजमान कन्दङ्वाले हतारम कार्यक्रम सकेर मन्त्री रविन्द्र अधिकारीको टोली साढे ११ बजे हेलिकोप्टरमार्फत उडेको बताएका छन् ।

उनले त मन्त्रीसहितकाे टाेली सीधै काठमाडाैँ गएकाे हाेला भन्ठानेका रहेछन्, किनकि मन्त्री स्वय‌ंले काठमाडाैँ फर्कने कुरा गरेका थिए । तर, सीधै काठमाडाैँ नगई पाथीभरा मन्दिर दर्शनमा गएछन् भन्ने दुर्घटनापछि मात्र आफूले थाहा पाएकाे उनले बताएका छन् । यसले पनि के शंका उब्जाउँछ भने मन्त्रीकाे इच्छा पाथिभरातिर जाने थिएन हाेला । तर कसकाे स्थार्थमा किन उडाइयाे हेलिकप्टरलाई पाथिभरा, त्याे पनि ओभरलाेड बाेकेर ?

कानुनविद् भीमार्जुन अाचार्यले पनि याे घटनालाई अनपेक्षित मानेका छन् । उनले दाङ जाने कार्यक्रम रहेकाेमा नियतिले दिवंगत मन्त्री अधिकारीलाई तेह्रथुम हुँदै ताप्लेजुङ पुर्याएकाे भन्दै दु:ख व्यक्त गरेका छन् ।

‘संयोग नै भनौं, मन्त्री रबिन्द्र अधिकारी आज दाङको धारापानी मन्दिरमा जारी महायज्ञको प्रमुख अतिथि हुने कार्यक्रम थियो। आयोजकहरुले अन्यत्रको कार्यक्रमका कारण वहाँ आज आउन नसक्ने हुनु भयो भनेका थिए,’ आचार्यले लेखेका छन्, ‘नियतिले वहाँलाई अर्कै ठाउँमा पुर्याएछ । मैले एक असल मित्र गुमाएका छु। देशले एक होनहार राजनीतिज्ञ गुमाएको छ।’

मृत्युु शाश्वत छ भन्दैमा यसरी असामयिक कालगतिले मर्ने भन्ने पनि होइन भन्दै उनले पनि दुर्घटनाकाे खास कारण जनताले थाहा पाउनुपर्ने बताएका छन् ।

कानुन व्यवसायी तथा अभियन्ता स्वागत नेपालले दिवंगत मन्त्री आफ्नाे नजिककाे साथी रहेकाे बताउँदै पाथिभरा नगएकाे भए दुर्घटना टर्ने थियाे कि भनेर सन्देह व्यक्त गरेका छन् । उनले लेखेकाे छन्, ‘एयरपोर्ट निरीक्षण गर्न भनेर पुगेका मन्त्री रवीन्द्र अधिकारी निरीक्षणपछि तीर्थब्रत व्यक्तिगत खर्चमै सपरिवार गरौँला भनेर पाथिभारा मन्दिरतिर नगई सोझै फर्कनुभएको भए दुर्घटना टर्ने थियो कि भन्ने लागिरह्यो, ‍…उहाँका विषयमा कानुनी रुपमा क्लिन चिट नपाई बिदा हुनुभयो । दुःख लागिरहेछ ।’

प्रतिपक्षी नेताहरुकाे समेत प्रिय रविन्द्र

यतिखेर धेरैले आशा गरेका तथा एक बलियाे सम्भावना रहेका युवानेता रविन्द्र अधिकारीकाे असामयिक निधले राष्ट्रिय शाेक निम्त्याएकाे छ । प्रतिपक्षी दल नेपाली कांग्रेस, नयाँ शक्ति नेपाललगायत दलका नेताहरुले समेत उनी एक असल र आशलाग्दा नेता रहेकाे स्मरण गर्दै शाेक व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विद्यार्थी आन्दाेलनकालीन सम्झना गर्दै दिवंगत मन्त्री अधिकारीप्रति शाेक व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘तपाईं अखिल अध्यक्ष, म नेविसंघ सभापति संगै थियौं, दरबार हत्याकाण्डपछि अखिलका अर्का अध्यक्ष राजेन्द्र राई + भएर लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन हामीले एक बनाएको स्मृति गर्दैछु !’

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्