रबीन्द्रका परिवारसँग प्रधानमन्त्री असैह्य पीडा थामेर बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस


 


काठमाडौं, फागुन १६

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनभएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीका पिता इन्द्रप्रसादसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै बुधवार राती नै मन्त्री रबिन्द्रका परिवारलाई भेट्न मन्त्री निवास पुल्चोक पुग्नुभएका प्रधानमन्त्री ओलीले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गर्नुभयो ।

‘अकल्पनीय दुर्घटनाको खबर थाह पाउने बितिक्कै असैह्य पीडाले सम्हालिन मलाई धेरै गाह्रो भएको थियो, म बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस, तपाईंहरुको साथमा देश, सरकार छ,’ मृतक रबिन्द्रका वृद्ध पिता इन्द्रप्रसादसहित परिवारका सदस्यलाई प्रधानमन्त्री ओलीको समवेदना उधृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भन्नुभयो ।

दुर्घटनाको खबरलगत्तै रबिन्द्रका पिता इन्द्रप्रसाद र माता लक्ष्मीदेवी पोखराबाट हेलिकप्टरमा काठमाडौं आउनु भएको थियो । काठमाडौंमै रहेकी श्रीमती विद्या भट्टराई त्रिविविमा प्राध्यपनरत हुनुहुन्छ ।

केहीबेर परिवारको साथमा रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको, उच्चस्तरीय जाँचबुँझ आयोग गठन गरेकोलगायतका निर्णय सुनाएर गहिरो समवेदना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँगै अधिकांश मन्त्रीहरु समवेदना व्यक्त गर्न पुल्चोक पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले मृतकका सबै परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्