पाकिस्तानकाे आकाश राेकिँदा हजारौँ हवाई यात्रु अलपत्र


 


काठमाडाैं पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामावादले सुरक्षाको कारण देखाउँदै आकाश बन्द गरेको छ । एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।

पछिल्ला दिनमा पाकिस्तानले भारतीय वायुसेनाका दुई वटा सैनिक विमान आफ्नो हवाई क्षेत्रमा खसालेको दाबी गर्दै आएकाे छ । यता भारतले आफ्नो वायुसेनाले पाकिस्तानको लडाकू विमान खसालेको दाबी गरेको छ । आक्रमण र प्रत्याक्रमणका कारण दुई देशबीच युद्ध हुन सक्ने अनुमान गरिएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ । आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताउँदै आएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्