मन्त्री अधिकारीको अन्तिम संस्कार पोखरामा, यस्तो छ अन्त्येष्टिको कार्यक्रम


 


काठमाडौं–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ ।

अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम संकारका लागि पोखरा लगिनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

अधिकारीको अन्तिम संस्कारअघि पोखरामा पनि श्रद्धाञ्जली कार्यक्रम

काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरा लगि शवयात्राका साथ अन्त्येष्टि गरिने छ ।
अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्