जननायकको जन्मजयन्ती दीप प्रज्ज्वलन


 


काठमाडौँ, फागुन १७
वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा एवम् जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्तीका अवसरमा शुक्रबार माइतीघर, मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा संघीय सांसद विशाल भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि उल्लेखनीय योगदान दिएका रामप्रसाद राईलाई सरकारद्वारा राष्ट्रिय विभूति घोषणा गरिएमात्रै उनको योगदानको उचित मूल्याङ्कन हुने बताए ।

नेकपा प्रदेश नं. १ का अध्यक्ष देवराज घिमिरेले रामप्रसाद राईहरूकै कारण आज मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै राईलाई राज्यले उचित कदर गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रा।डा। गोविन्दमान सिंह कार्की र युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले जननायक राईको योगदानबारे प्रकाश पारेका थिए । स्मृति प्रतिष्ठानका कार्यबाहक अध्यक्ष देवीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक, कवि, पेशाकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

वि‍‍.सं. १९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राईको नेतृत्वमा २००७ साल मङ्सिर २४ गते बिनारक्तपात भोजपुरलाई शासनबाट मुक्त गरिएको थियो । ००७ सालको दिल्ली सम्झौताको विपक्षमा रहेका राई २००८ सालमा बेपत्ता पारिएका थिए ।

यसै गरी भोलि १८ गते काठमाडौँको रविभवनस्थित दिलशोभा श्रेष्ठको आमाघरमा आश्रित जेष्ठ नागरिकहरूलाई सम्मान गरी प्रजातान्त्रिक योद्धा राईको ११०औँ जन्मजयन्ती मनाइने कार्यक्रम रहेको स्मृति प्रतिष्ठानका सचिव शशी लुमुम्बूले जानकारी गराए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्