जेष्ठ नागरिकमाझ प्रजातान्त्रिक योद्धा राईको ११०औँ जन्मजयन्ती


 


काठमाण्डौँ, फागुन १८

२००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्ती आज काठमाडौँ रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकमाझ मनाइएको छ ।

आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालले परोपकारी कार्यमा समर्पित श्रेष्ठको आश्रममा आश्रित जेष्ठ नागरिकका साथमा प्रजातान्त्रिक योद्धा राईको ११०औँ जन्मजयन्ती मनाइनु सार्थक कार्य भएको बताउनुभयो । उहाँले राईले नेपालको राजनीतिक परिवर्तनका लागि पु¥याएको योगदानको नागरिकस्तरबाट उच्च मूल्याङ्कन भइरहेको भन्दै राज्यबाट पनि उचित सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रा।डा। गोविन्दमानसिंह कार्की, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष देवीप्रसाद घिमिरे, कोषाध्यक्ष इन्दिरा पोखरेललगायतले प्रजातान्त्रिक योद्धा राईको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

सहयोगका लागि आमाको घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आभार प्रकट गर्नुभएको थियो । श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । ००७ सालको जनक्रान्तिमा पूर्वको कमान्डर रहेका राई ००८ सालमा भएको सिंहदरबार विद्रोहपछि बेपत्ता पारिएका थिए । शुक्रबार राईको जन्मजयन्तीको पूर्व सन्ध्यामा माइतीघर मण्डलमा दीप प्रज्ज्वलन गरिएको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्