चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन


 


चितवन, फागुन २०

रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिनुभएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उहाँले जानकारी दिनुभयो । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उहाँले बताउनभयो । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उहाँले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताउनुभयो । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताउनुभयो । । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उहाँले यसपछि यही कामबाट अन्य काम गर्ने बताउनुभयो ।

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उहाँले भन्नुभयो । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उहाँको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताउनुभयो । एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस– सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्