पाँचथर कारागारमा क्षमताभन्दा बढी कैदी
पाँचथर, फागुन २२
जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा छ गुणा बढी कैदी राखिएको छ । २५ जना क्षमताको जिल्ला कारागारमा अहिले १ सय ५३ जना राखिएका छन् ।तीमध्ये १ सय ३६ जना पुरुष, १५ जना महिला, २ वर्ष र १७ महिनाका नाबालक समेत रहेका छन् ।
क्षमताभन्दा छ गुणा बढी बस्नुपरेपछि अहिले कैदीहरु मुस्किलले बसेका छन् भने स्वास्थ्य समस्या आउँदा अप्ठेरो हुने गरेको कारागारका प्रमुख सुरेन्द्रबहादुर मुखियाले बताउनुभयो ।
कारागारको क्षमता अनुसार सरकारबाट कैदीको स्वास्थ्य उपचारको लागि वर्षमा ८० हजारदेखि १ लाख सम्म रकम विनियोजन हुने र यो रकमले करिब ६ महिनामात्र पुग्ने मुखियाको भनाइ छ ।
कारागारमा एक जना मानसिक रोगी र अर्का एक जना मुटु रोगीसमेत रहेका छन् । यस्तै अपाङ्गता भएका एक जना र ७५ वर्षीय २ जना वृद्धसमेतले कैद भुक्तान गरिरहेका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार












