नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव छैन : देउवा


 


काठमाडौं सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको प्रतिक्रिया नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दिएका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनु राम्रो पक्ष रहेको तर्क गरेको घटना र बिचारमा खबर छ ।

तथापि, सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने देउवाको जिकीर थियो । ‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’ देउवाले भने ।

पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले आफ्नो पार्टीमा कसैको अधिकार नखोसेको दाबी पनि गरे । पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको देउवाले बताए ।

सभापति देउवाले नेविसङ्घभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विधानानुसार नै पार्टीलाई अघि बढाइने बताए । यस्तै, नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको स्वीकार गरे पनि देउवाले देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएको तर्क गरे र भने- ‘नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव छैन ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्