झापाको दक्षिणका अधिकाम्स नाका तस्करमैत्री बन्दै


 


भद्रपुर, २३ चैत्र । झापा सदरमुकाम दक्षिणका अधिकाम्स नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ ।

सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलिभगतमा तस्करीको वातावरण बन्दा भद्रपुर भन्सारको राजश्व संकलन गिरावट हुँने क्रम बढ्दै गइरहेको छ । यस भन्सारबाट लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनासक औषधी लगायतका सामग्री आउने भए पनि प्रहरी प्रशासनले अन्यत्रै बाटो खुलाइदिँदा भन्सार महशुल बुझाएर सामान ल्याउने व्यापारी कम हुँदै गएका हुन् ।

पछिल्लो पटक कचनकवल नाकाबाट भारततिर गाईगोरुको तथा काठलतस्करी मौलाइरहेको रहस्य खुलेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा गत हप्ता सात वटा गाईसहित एउटा पिकअप भ्यान प्रहरीले नियन्त्रणमा आएपछि यस्तो रहस्य बाहिर आएको हो । अबैध बाटो गरी दक्षिणका महेशपुर, पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, घेरावारी नाकाबाट सुपारी, मरिच, सेतो मटर, गाइगोरु, काठ लगायत भारतिर जाने गरेको छ भने भारतबाट नेपालतर्फ लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनाषक विषाधी, यौनबद्र्धक औषधी, हार्डवेरका सामग्री लगायत आउने गरेको स्थानीयको भनाइ छ । स्थानीय स्तरमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई प्रभावमा पारेर वारपारको कारोवार भइरहेको समेत स्थानीय बताउने गरेका छन् ।

पछिल्लो पटक प्रहरी टोलीले कचनकचव ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित भ्यान नियन्त्रणमा लिएको थियो । हल्दिवारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानमा सात वटा गाई लोड गरिएको थियो । भ्यानमा लोड गरिएको गाई साजै भारततर्फ गइरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी) महेन्द्रकुमार श्रेष्ठको भनाइ छ । रातो नम्बर प्लेटको निजी भ्यानले व्यापारिक सामग्री तथा गाईबस्तु बोक्न नपाउने यातायात व्यवस्थामा कानुनमा उल्लेख छ । झापामा अबैध काममा यस्ता भ्यानले सहयोग गरिरहे पनि नियामकलेनियन्त्रण गर्न सकिरहेको छैन ।

भन्सारको नियम अनुसार गोरुको मात्र निकासी काटिन्छ, भद्रपुर भन्सार कार्यालयका सुब्बा रेवती गिरीले भने, ‘गाईको भन्सार निकासी काट्ने नियम नै छ्रैन, त्यही भएर गाईगोरुको चोरी निकासी बढेको हो ।’पिकअप चालक टीकाराम थापालाई समेत नियन्त्रणमा लिएको जनाइएको छ । गाई, पिकअप भ्यान र चालक थापालाई आवश्यक कारबाही लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।

सीमा प्रहरी चौकी केचनाले सात वटा गाईलाई एक हजारको दर तोकेर सात हजारमा बुझाएको छ, भने पिकअप भ्यान (गाडी)लाई ३ लाख मूल्याङ्कन तोकेर भद्रपुर भन्सार बुझाएको भन्सारका सुब्बा रेवति गिरीले जानकारी दिए । कालो नम्बर प्लेटलाई भाडाको गाडी मानिन्छ, तर रातो नम्बर प्लेट भएको भ्यानलाई तीन लाख मुल्याकंन तोकिँदा यसमा चलखेल भएको भन्सार स्रोतको दाबी छ । नियन्त्रणमा लिएको ६ देखि ८ लाख मूल्याङ्कन हुनु पर्ने भन्सार स्रोतको भनाई । स्रोतका अनुसार गाई गोरु व्यापारी र तस्कर समूहले कचनकवलका जनप्रतिनिधिलाई गाईसहितको भ्यान छुट्ट्याउन दबाब दिएका थिए ।

यता व्यापारीको दबाबमा परेर जनप्रतिनिधिले नेपाल प्रहरीलाई उल्टै दबाब दिन थाले । नेपाल प्रहरीले गाईसहितको भ्यान छाड्न नमिल्ने भएपछि मूल्याङ्कन हेरी दिन प्रहरीलाई आग्रह गरे । जनप्रतिनिधिकै आग्रह बमोजिम प्रहरीले तीन लाख मूल्याङ्कन तोकेर भ्यानसहित चालकलाई भन्सार बुझाइएको जनाइएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्