न्यायाधीश नियुक्तिमा पनि भीम रावलको असन्तुष्टि
काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता भीम रावलले न्यायाधीश नियुक्तिको विरोध गरेका छन् । रावलले संवैधानिक व्यवस्था र देशको प्रतिनिधित्वलाई हेक्का राख्न शनिवार ट्वीटरमार्फत न्याय परिषदको ध्यानाकर्षण गराएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘न्यायाधीशहरूको छनौटबारे वरिष्ठ कानून वक्ताहरूले नै टिप्पणी गरिरहनु भएको छ । संविधानको धारा १८, ४२ र २४३ को समानता, सामाजिक न्याय, समावेशी सिद्धान्त राम्ररी मनन गर्दै नेपाल मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म छ भन्ने कुराको हेक्का निर्णयकर्ताले राख्नु देशको हितमा हुन्छ ।’
परिषद्को चैत १९ मंगलवारको बैठकले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ न्यायाधीशलाई नियुक्तिको लागि सिफारिस गरेको थियो । सिफारिसमा सत्तारुढ दल निकट नेता तथा मन्त्रीनिकट व्यक्तिहरु पनि समेटिएका छन् । जसको चौतर्फी विरोध भइरहेका बेला नेता रावलले शनिवार असन्तुष्टि जनाएका हुन् ।
प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार










