श्रीमान्–श्रीमती दुबै कर्मचारी भए एउटै ठाउँमा पदस्थापना गरिने


 


काठमाडौं कर्मचारीहरूको श्रीमान्– श्रीमती दुवै जागिरे छन् भने उनीहरूलाई सकेसम्म एकै ठाउँमा पदस्थापा गर्ने नीति संघीय मन्त्रालयले बनाएको छ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई सकेसम्म एउटै कार्यालय, त्यो नभए एउटै प्रदेश र त्यो पनि नभए एउटै स्थानीय तहमा पदस्थापना गरिने भएको छ।

यसैगरी, अशक्त कर्मचारीलाई पहिलो प्राथमिकता दिई सकेसम्म उनीहरूले रोजेको ठाउँमा पदस्थापना गर्ने भनिएको छ।

मन्त्रालयले गठन गरेको गुनासा शाखामा आएका गुनासोका आधारमा मन्त्रालयले यस्तो नीति बनाएको हो। मन्त्रालयका अनुसार करिब १० हजार कर्मचारीहरूले समायोजनप्रति असन्तुष्ट जनाउँदै सामान्य प्रशासन मन्त्रालयले गठन गरेको गुनासो शाखामा निवेदन दिएका छन्।

मन्त्रालयले असन्तुष्ट कर्मचारीको गुनासो सुन्न मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईको संयोजकत्वा गुनासो समिति गठन गरेको छ। चैत २० सम्म गुनासो सुनुवाइ गर्ने अन्तिम म्याद राखिएको थियो।

तोकिएको दिनसम्म करिब १० हजार गुनासो निवेदन दर्ता भएको गुनासो समितिका झरेन्द्र चापागाईंले जानकारी गराए। उनका अनुसार गुनासोबारे अध्ययन गर्ने काम सुरु भएको छ।

मन्त्रालयका अनुसार गुनासो गर्ने कर्मचारीमध्ये अधिकांशले आफूमाथि अन्याय भएको, आफूभन्दा कनिष्ठलाई संघमा राखी आफूलाई स्थानीय तहमा पठाइएको, श्रीमान्–श्रीमतीलाई फरकफरक ठाउँमा समायोजन गरिएको जस्ता गुनासो आएका छन्। स्रोत भन्छ, ‘गुनासो गर्नेहरूमध्ये केही कर्मचारीहरूले श्रीमान् श्रीमतीलाई एकै ठाउँमा राख्न निवेदन दिएका छन्।’

सामान्य प्रशासनमन्त्री संयोजक रहेको निर्देशक समितिले असन्तुष्ट कर्मचारीहरूको गुनासो सुनवाइ गर्ने व्यवस्था कर्मचारी समायोजन ऐनमा उल्लेख गरिएको छ। प्रवक्ता अधिकारीले मंगलबार÷बुधबार मन्त्रालयमा आएका सबै गुनासोहरूको अध्ययन गरी निर्देशक समितिमा पेस गर्ने तयारी भएको छ। मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहबाट संघमा समायोजन भएका कर्मचारीलाई असार मसान्तसम्म्म प्रदेश र स्थानीय तहमा राख्ने तर संघबाट प्रदेश र स्थानीय तहमा समयोजन गरिएका कर्मचारीलाई तत्काल प्रदेश र स्थानीय तहमा पदस्थापन गर्ने नीति बनाएको छ।

हाल संघअन्तर्गत मातहतका कार्यालयमा काम गरेका, समायोजनपछि पनि संघमै समायोजन गरिएका कर्मचारीलाई भने सकेसम्म हाल काम गरेकै कार्यालयमा पदस्थापना गर्ने नीति मन्त्रालयले बनाएको अधिकारीले जनाए।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्