सुनसरीमा दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला शुरु


 


इटहरी नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला प्राचिन हरिद्वार सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ ।

दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भको शनिबार एक कार्यक्रममा विच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मेला चैत्र २३ देखि २०७६ बैशाख २४ गते अर्थात एक महिनासम्म चल्नेछ । वेद तथा स्कन्द पुराणमासमेत उल्लेख भएको चतराको महिमालाई जीवन्तत दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

सुनसरीको चतरालाई केन्द्रविन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अघि बढाएको मुख्यमन्त्री राईले जानकारी दिए । उनका अनुसार सुनसरीको चतरा, विष्णुपादुका, पिण्डेश्वर, विजयपुर र रामधुनिमा धार्मिक सर्किट बनाएर विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारसँगै सघीय सरकार समेत लागि परेको छ ।

अर्धमहाकुम्भ मेला आयोजन समितिमात्र होइन चतराका सन्त महासन्तले समेत यस मेलालाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको कार्यक्रम सहभागीहरुको भनाई थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार कार्की, संघीय ममिला तथा कानुनमन्त्री हिकमत कार्की, पर्यटन मन्त्री जगदिश कुसैत लगायतले चतरा प्रदेश नं. १ कै गहना भएको बताएका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्