वैदेशिक रोजगार रोकिए नेपालीको जनजीवन नै धराशायी हुन सक्छ पूर्वमन्त्री


 


काठमाडौ : देशका विभिन्न भागमा भाषा सिक्ने र वैदेशिक रोजगारीको युवाहरु ठगिने क्रम बढिरहेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै सञ्चार केन्द्र नेपालले ‘वैदेशिक रोजगारी र हाम्रो तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्व श्रम तथा रोजगार मन्त्री कमल चौलागाईंले हाम्रो लाइफ लाइन नै वैदेशिक रोजगार भइसकेको बताएका छन् । आइतबार संचार केन्द्र नेपालद्वारा आयोजित ‘वैदेशिक रोजगारी र हाम्रो तयारी’ बिषयक अन्तरकृया कार्यक्रममा पूर्व श्रम मन्त्री चौलागार्इले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले भारतसँग व्यापार नाफा र घाटाको काम गरिरहेकाले नेपालीहरुको लागि वैदेशिक रोजगार अपरिहार्य भएको तर्क गरे । मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको औल्याउदै चौलागाईंले भने ‘वैदेशिक रोजगार रोक्नै नसकिने पक्ष हो , यदि रोकिएमा सम्पूर्ण नेपालीहरुको जनजीवन नै धराशयी हुन सक्छ ।’

आफू श्रममन्त्री हुँदा दक्षिण कोरियाली सरकारसँग सम्झौता गरी ठुलो मात्रामा नेपाली कामदारहरुलाई सरकारीस्तरबाटै स्तरीय वैदेशिक रोजगार सिर्जना गर्न सफल पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय वैदेशिक रोजगारीलाई बदनाम गर्ने कार्य भइरहेको जनाउँदै नेपालले मात्र नभएर धेरै राष्ट्रहरुले वैदेशिक रोजगारमा युवाहरुलाई पठाउने गरेकाले यसलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गरे । पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय मुलुकको अर्थतन्त्रलाई विगार्ने दुष्प्रयास गर्नेहरुले वैदेशिक रोजगारसम्बन्धी विभिन्न अफवाह फैल्याउँदै आइरहेकाले यस विषयमा सचेत रहन सम्पूर्ण नागरिक तथा सरोकारवालाई आग्रह गरे ।

त्यसैगरी श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका उपसचिव दिपक ढकालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गरिएको बताए । वैदेशिक रोजगारमा जाने युवाहरुको लागि सीप तथा दक्षताका लागी राज्यले थुप्रै अबसरहरुको व्यवस्था गरिरहेको जानकारी गराउँदै उपसचिब ढकालले वैदेशिक रोजगारमा जाने युवाहरुलाइ सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान आग्रह गरे ।

उनले सरकारले वैदेशिक रोजगारमा गएर दुःख पाएकाहरुको गुनासो सुन्नका लागि बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कल सेन्टरको व्यवस्था गरेको जानकारी गराउँदै वैदेशिक रोजगारमा रहेका युवाहरुको हक हितमा सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । समाजको आर्थिक रुपान्तरण गर्न जरुरी भएको भन्दै उपसचिब ढकालले भने ‘रेमिट्यान्सलाई देशको आर्थिक विकाससँग जोड्न राज्य लागिपरेको छ ।’ उपसचिव ढकालले जापान नेपालीहरुको रोजगारको लागि आकर्षण केन्द्र भएकोले युवाहरुलाई न्यूनभन्दा न्यून रकममा जापान जान पाउनका लागि नेपाल सरकारले जापान सरकारसँग सम्झौता गरेको बताए ।

कार्यक्रममा हिसानका केन्द्रीय सचिव रामहरि सिलवालले कम्युनिष्टहरुको सिद्धान्त उत्पादनमा केन्द्रित हुनुपर्ने भएपनि गरिखाने शिक्षाको कमीले गर्दा दुई तिहाईको कम्युनिष्ट सरकार रहेपनि सरकार उत्पादन केन्द्रित हुन नसकेको बताए। उनले मुलुकको परिवर्तन शिक्षाले गर्ने भएकोले मुलुकमा नैतिक शिक्षा, गरिखाने शिक्षा र राष्ट्र निर्माणसम्बन्धी शिक्षा प्रदान गरी मुलुकमा गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । अरुको देशमा पाखुरा बजारेर केही नहुने ठोकुवा गर्दै सिलवालले भने, ‘शिक्षमा आमूल परिवर्तन गरी दक्ष युवाशक्ति मुलुकमै परिचालन गरि मुलुकमा आर्थिक रुपान्तरण गर्न सकिने छ ।

कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य सन्तोष पाण्डेले वैदेशिक रोजगारमा जाने हजारौं युवाहरु ठगिइरहेकाले त्यसको अन्त्य गर्न सरकारलाई आग्रह गरे। उनले जापान र कोरिया जाने युवाहरुलाई जस्तै साउदी, कतार जस्ता खाडी मुलुकहरुमा जाने युवाहरुलाई समेत भाषा र सीपको परीक्षाको व्यवस्था गर्दा खाडीमा समेत युवाहरु ठगिन र दुःख पाउन नपर्ने तर्क गरे । जापान र कोरिया भाषाको नाममा समेत ठगी भएको भन्दै पाण्डेले भने, ‘भाषाका विज्ञहरुबाट मात्र भाषा सिकौं र नठगिऔं ।’

त्यसैगरी कार्यक्रममा एनआरएन जापान हेर्ने केन्द्रीय सदस्य कपिलदेव थापाले वैदेशिक रोजागारमा जानका लागि भाषा जानेर मात्र नहुने भन्दै भाषासँगै सीप समेत सिक्न जरुरी भएको बताए । उनले जापान सरकारले छिट्टै अन्योलको अन्त्य गरी भाषा परीक्षाको नीति निर्माण गर्ने विश्वास प्रकट गरे ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्