नागरिकताबारे सर्वोच्च अदालतको आदेश–गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्नू
काठमाडौं, चैत २५ : जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको हो। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि गृहमन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर जन्मसिद्ध नागरिकता प्राप्त गर्नेका सन्तानलाई कानून बमोजिम वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो। सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि वैशाख ३ गते बोलाएको छ।
प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार










