योगेश भट्टराई मन्त्री बन्लान् कि नबन्लान् ?


 


काठमाडौं । प्रचण्डको अमेरिका भ्रमणपछि पर्यटन मन्त्री नियुक्त गर्ने चर्चा थियो । २०७५ फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि अर्को पर्यटनमन्त्री नियुक्त हुन सकेको छैन । त्यसैले दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच केही समय अघि भएको छलफल अनुसार अघिल्लो सातातिरै पर्यटनमन्त्री नियुक्त भइसक्नुपर्ने थियो । तर, त्यसअनुसार काम हुन सकेन ।

अहिलेसम्म पर्यटनमन्त्री नियुक्त हुन सकेको छैन । अर्थात् कसलाई बनाउने भन्ने अहिलेसम्म व्यक्ति रोज्न सकिएको छैन । त्यसले गर्दा पर्यटन वर्ष २०२० लाई समेत असर परेको छ ।

मन्त्रीहरु फेरबदल गर्ने कि नगर्ने भन्ने विषयमा दुई अध्यक्षबीच मतभेद देखिएपछि यो प्रक्रिया पनि रोकिएको नेकपा स्रोतको भनाई छ । नेकपाका नेताहरुको भनाईमा मन्त्रिपरिषदका सदस्य फेरबदल नहुने हो भने सञ्चार मन्त्री गोकुल बास्कोटालाई लैजानबारे छलफल भएको थियो । तर, मन्त्रिपरिषदका सदस्य फेरबदल गर्ने हो भने योगेश भट्टराईलाई पर्यटन मन्त्री बनाउनेबारे छलफल भएको स्रोत बताउछ ।

प्रधानमन्त्रीनिकट नेकपाका केही नेताहरुमार्फत भट्टराइलाई सन्देश पठाईरहेको चर्चा छ । तर, भट्टराईले त्यसमा सहमति जनाईसकेका छैनन् । अर्थात आफू मन्त्री भएपछि मन्त्रिपरिषदका सदस्यहरु फेरिए भने लामो समय आफ्नो पनि काम गर्ने वातावरण नहुने हो कि भन्ने भय सांसद भट्टराईमा रहेको चर्चा छ ।

त्यसैले पनि उनी अलमलमा परेको उनीनिकट नेताहरुको भनाइ छ । प्रचण्डले त अमेरिका जानु अगाडि नै भट्टराईलाई पर्यटन मन्त्री हुनलाई आग्रह गरेका थिए । तर, अहिले भने पर्यटन मन्त्रालयमा चासो राख्नेको संख्या भने बढेको छ । त्यसबाहेक यो मन्त्रालय बामदेव गौतमको भागमा परेका कारण उनी निकटका नेतालाई मन्त्री बनाउनुपर्ने वाध्यता पनि छ प्रधानमन्त्रीलाई ।

हुन त, राज्यमन्त्री धनबहादुर बुढालाई फुल मन्त्रीका लागि एकपटक प्रधानमन्त्रीले सोधेको पनि चर्चा छ । तर, बुढाले आफूले नसक्ने भन्दै जवाफ दिएको चर्चा पनि छ ।

वामदेवको कोटाबाट टाढा पुगिसकेका तर त्यही धारमा रहेका योगेशलाई मन्त्री बनाउदा ओली, प्रचण्ड, माधव नेपाल, वामदेव गौतम सबैको रोजाईमा पर्नेछन् । केही महिना पहिला हार्दिक होटलको एक कार्यक्रममा बोल्दै प्रचण्डले जसरी पनि मन्त्री बनाउछु भनेर सांसद योगेशलाई भनेका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्