२१ थान राहदानी बोकेर हिड्ने एजेन्ट पक्राउ


 


विराटनगर । इजाजतविना विभिन्न व्यक्तिको २१ थान राहदानी बोकेर हिंड्ने एक जना ‘एजेन्ट’ लाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका ६ का ५५ वर्षीय रत्नकुमार लिम्बूलाई इटहरी बजारबाट २१ थान राहदानीसहित पक्राउ गरेको हो।

पक्राउ परेका लिम्बूलाई सुनसरी प्रहरीले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा मंगलबार बुझाएको छ। वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलका अनुसार वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दा श्रम तथा रोजगार कार्यालयले हेर्ने भएकोले प्रहरीले लिम्बूलाई श्रम कार्यालयमा बुझाएको हो। पक्राउ परेका लिम्बूलाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको श्रम तथा रोजगार कार्यालय विराटनगर वरिष्ठ श्रम अधिकृत सन्जेलले बताए। रोजगारीमा जाने युवालाई प्रलोभनमा पारी लिम्बूले ठगी गरिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

लिम्बूले वैदेशिक रोजगारमा पठाइदिने भन्दै र विभिन्न प्रलोभन देखाएर राहदानीधनीबाट ठगी गरेको हुनसक्ने भएकोले श्रम कार्यालयले अनुसन्धान गरिरहेको छ। ‘वैदेशिक रोजगार ऐन,२०६४ को दफा १० बमोजिम इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ’, वरिष्ठ श्रम अधिकृत सञ्जेलले भने, ‘पक्राउ परेका लिम्बूको साथबाट विभिन्न जिल्ला घर भएका पुरुष र महिला नाममा जारी भएको २१ थान राहदानी बरामद भएको छ। उनीसँग इजाजत पत्र पनि छैन।’

बरामद भएको राहदानी सिन्दुपाल्चोकदेखि, मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुमलगायत घर भएकाहरुको छ। श्रम कार्यालयमा वैदेशिक रोजगारमा पठाइ दिने भन्दै लाखौं रुपमा ठगिएको उजुरी आउने क्रममा बढेको सञ्जेलले बताए।

पक्राउ परेका लिम्बूले विदेश जाने गाउँघरका युवाको राहदानी भेला पारी म्यानपावर कम्पनीमा पठाउने गरेका थिए। उनले सम्पर्क गरेको म्यानपावरले प्रतिव्यक्ति लिम्बूलाई निश्चित रकम कमिशन दिने गरेको थियो। म्यानपार कम्पनीले निश्चित रकम दिएर गाउँघरमा एजेन्ट राख्ने गरेका छन्। एजेन्टमार्फत प्रतिव्यक्ति विदेश गए। म्यानपावरले एजेन्टलाई १० देखि २० हजार रुपैयाँसम्म कमिशन दिने गरेको बताइन्छ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्