अन्तर्राष्ट्रिय अपराध अदालतमा प्रचण्डविरुद्ध उजुरीको प्रयास !


 


काठमाण्डौँ । माओवादीको हिंसात्मक युद्धमा बालसेनाका रूपमा उपयोग गरिएका लेनिन विष्टले यसै साता नेदरल्यान्डको हेगस्थित इन्टरनेसनल क्रिमिनल कोर्टमा उपस्थित भएर आफ्ना पीडा र व्यथाहरू प्रस्तुत गर्ने भएका छन् ।

उक्त अदालतका वकिल तथा केही मानवअधिकारकर्मीहरूसमक्ष विष्टले आफूलाई माओवादी नेतृत्वले कसरी दुरुपयोग ग¥यो र उनीहरू सत्तामा आइसकेपछि के–कस्ता सास्ती र पीडा दियो भन्ने विषयमा सविस्तार वर्णन गर्ने कार्यक्रम तय भएको बुझिएको छ । विष्टले त्यस अवसरमा वकिल तथा मानवअधिकारकर्मीहरूसँग दोषीहरूका विरुद्ध अदालतमा उजुरी दिने उपाय र सम्भावनाबारे पनि छलफल गर्ने जानकारी घटना र विचारलाई दिएका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा वकिलहरूसँग चैत २७ गते बुधबार छलफल हुने उनले जनाएका छन् । विष्टको बयान अपराध अदालतमा कुनै न कुनै प्रकारले रेकर्ड रहने व्यवस्था मिलाउन लागेको पनि बुझिएको छ । हेगको छलफल तथा बैठक सकिएलगत्तै विष्ट बेल्जियम जाने छन् र, त्यहाँ उनले संयुक्त राष्ट्रसंघमा रहेर द्वन्द्वपीडित बालबालिकासम्बन्धी विषय हेर्ने उच्चाधिकारीसँग भेट गरी आफ्ना समस्या अवगत गराउने कार्यक्रम रहेको छ । ती उच्चाधिकारीको अप्रिल १२ तारेखमा बेल्जियम पुग्ने कार्यक्रम रहेको छ ।

ज्ञातव्य छ, नेदरल्यान्ड सरकारको विशेष निमन्त्रणामा लेनिन विष्ट दुई साताअघि नेदरल्यान्ड पुगेका छन् । तीन महिना युरोपमा रहँदा विष्टले युरोपका खास–खास मुलुकका मन्त्री, सांसद, वकिल र मानवअधिकारवादीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् । प्रक्रिया मिलाउन सकिने भएमा हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा लेनिनले प्रचण्डलगायतका केही माओवादी नेताविरुद्ध आवेदन दर्ता गराउने भएका छन् । साभार : घटना र विचारबाट

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्