सगरमाथाको उचाइ मापनमा जाने टोलीलाई के भने प्रधानमन्त्रीले ?


 


काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार एक कार्यक्रम गरी बिदाइ गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन् ।

उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरू खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल रहेका छन् । पथप्रदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यसपटकको परिणाम नै आधिकारिक हुने बताए । प्रधानमन्त्री ओलीले आरोहीहरूलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्दै पथप्रदर्शकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिए ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्