सिंगापुर र थाइल्याण्डको जस्तै नदीजन्य मनोरञ्ज अब सप्तकोशीबाट


 


सुनसरी । सिंगापुर तथा थाइल्याण्डमा जस्तै नेपालमा पनि पहिलोपटक दुई नदीबाट रिभर फन अर्थात् नदीजन्य मनोरञ्जन सुरु हुने भएको छ । सप्तकोशी र नारायणी नदीमा यही आउँदो वैशाख १ गतेबाट रंगमहल रिर्भर ल्याण्ड प्राइभेट लिमिटेड उदयपुरले तीन प्रकारका बोट सञ्चालनमा ल्याएर रिभर फन सुरु गर्ने भएको हो ।

नेपालमा पनि जल पर्यटनको सम्भावना देखाउन दुई नदीमा एकसाथ रिभर फन सञ्चालनमा ल्याउन लागेको नव पर्यटन व्यवासायी तथा रङ्गमहल रिभर ल्याण्डका अध्यक्ष रमण भट्टराईले जानकारी दिए ।

‘हामीले सिंगापुर, थाइल्याण्ड जाँदा समुद्रमा जसरी समुद्र सफारी गर्छौं,’ उनले भने, ‘त्यसैगरी सप्तकोसी र नारायणी नदीमा जल पर्यटनको लागि रिभर फनको व्यवस्था सञ्चालन गर्न लागेका हौँ ।’ नेपाली नदीमा पनि जल पर्यटनको सम्भावना भएकाले सप्तकोसी र नारायणी नदीबाट सुरु गर्न रिभर बोट, जेट स्किन र वनाना बोटको व्यवस्था गरिएको छ ।

‘साढे चार करोड खर्च गरेर सप्तकोसी र नारायणी नदीमा एकसाथ रिभर फनको सेवा दिँदै छौ,’ उनले भने, ‘यही आउँदो वैशाख १ गतेदेखि विधिवत रुपमा उद्घाटन गर्ने छौ ।’ उनका अनुसार सप्तकोसीमा दुई/दुई वटा रिभर बोट र जेट स्किन छ भने एकवटा वनाना बोट तयारी बनाइएको छ ।

यसैगरी, नारायणी नदीमा जेट बोट, बनाना र जेट स्किन एक/एकवटा तयारीमा राखिएको अध्यक्ष भट्टराईले बताए । जापान र चीनबाट ल्याइएको हो । ‘जेट स्किनमा सफर गरेको रु ४ सय, रिभर बोट ३ सय र बनाना बोटको २ सय लाग्ने छ,’ भट्टराईले विस्तृतमा भने, ‘एक जना पर्यटकले तीन बोटको सेवा दिन ७ सय ५० मात्र तिर्दा पुग्छ।’ तीनै प्रकारकार बोटेले दुईदेखि ४ किलोमिटरको दुरी दौडिने छ ।

नेपालमा नदीजन्य मनोरंजनका लागि कुनै पनि नीति नियम नभएकाले समस्या परेको गुनासो अध्यक्ष भट्टराईको छ । सप्तकोसीमा कोसी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने नारायणी नदीमा पनि चितवनको नारायघाटको नारायणी पुलको आसपास रिभर फनको व्यवस्था गरिएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्