कम्बोडियाबाट फर्केपछि ओलीको बोली: सभामुख महरासँग लफडा पर्ने संकेत


 


काठमाडौं प्रधानमन्त्री केपी ओलीले आफूले बोलेका शब्द संसदको अभिलेख (रेकर्ड) बाट नहटेको दाबी गरेका छन् ।

भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केपछि बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रतिपक्षी काँग्रेस संसदले बोलेका अमर्यादित शब्द मात्र संसदको रेकर्डबाट हटेको बताए । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका सवाललाई ओलीले आक्रोश, कुण्ठा र निम्छरो प्रवृत्तिको संज्ञा दिएका थिए । सोही विषयलाई लिएर काँग्रेसले संसद बैठकमा हंगामा गरेको थियो ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री भियतनाममा रहेका बेला ओली र काँग्रेस सांसदले बोलेका ‘राष्ट्रपतिको सरकार, प्रधानमन्त्रीले ठेक्कापट्टामा भ्रष्टाचार गर्न खोजेको जस्ता असंसदीय शब्द रेकर्डबाट अटाउन संसदका कर्मचारीलाई निर्देशन दिएका थिए । तर, ओलीले आफ्ना शब्द नभई सभामुखले काँग्रेस साँसदका शब्द मात्र हटाएको जिकिर गरे । ओलीले विपक्षी सांसदका असंसदीय, अमर्यादित र उत्ताउला शब्द मात्र रेकर्डबाट हटेको दाबी गरे । यद्यपि सभामुख महराले ओलीको ‘निम्छरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । ओलीले जनताको मतबाट निर्वाचित संस्थाको मानमर्दन गरेर बहादुरी देखाएको भ्रममा नपर्न काँग्रेसलाई आग्रह गरे । ओलीले काँग्रेसतर्फ संकेत गर्दै गणतन्त्रमाथि हमला भइरहेको आरोप लगाए ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्