सडक सुरक्षा र पार्किङ व्यवस्थापनका लागि अधिकारसम्पन्न निकाय आवश्यक : गगन थापा



काठमाडौँ, २६ असार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकामा सडक तथा फुटपाथ निर्माण गर्दा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको उल्लेख गर्नुभयो।

सभापति थापाले सडक विस्तारका क्रममा फुटपाथलाई बेवास्ता गरिएको र निर्माण भएका फुटपाथ पनि सबै नागरिकले सहज रूपमा प्रयोग गर्न मिल्ने गरी नबनाइएको बताउनुभयो। सडक दुर्घटनापछि मात्र विश्लेषण गर्ने प्रवृत्ति अन्त्य गरी दुर्घटना हुन नदिने दृष्टिकोणबाट पूर्वतयारी र अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले भन्नुभयो, “हामीले सडक विस्तार गर्दा फुटपाथ बनाएनौँ, बनाइहाले पनि साँघुरा बनायौँ। ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका नागरिक सहज रूपमा हिँड्न सक्ने पूर्वाधार निर्माण हुन सकेन। एसियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि काठमाडौँमा फुटपाथ विस्तार परियोजना सुरु भए पनि यसको महत्त्वलाई अझै पर्याप्त रूपमा आत्मसात् गर्न सकेका छैनौँ।”

पार्किङ व्यवस्थापनबारे बोल्दै सभापति थापाले राइड सेयरिङ सेवामा आबद्ध हजारौँ चालकले दैनिक रूपमा विभिन्न समस्या भोगिरहेको उल्लेख गर्नुभयो। सवारीसाधन आयातलाई प्रोत्साहन गर्ने तर आवश्यक पार्किङ पूर्वाधार निर्माण नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले सडक व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, पार्किङ तथा सडक दुर्घटना न्यूनीकरणका विषयमा सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्ने अधिकारसम्पन्न राष्ट्रिय संयन्त्र गठन गर्नु आवश्यक भइसकेको दोहोर्‍याउनुभयो।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्