गोलभेँडाको मूल्य घट्दा पाँचथरका किसान मारमा
पाँचथर, २६ असार । पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। उत्पादन लागत बढ्दो क्रममा रहे पनि बजार मूल्य गत वर्षको तुलनामा झन्डै आधाले घटेपछि कृषकलाई लगानी उठाउनै कठिन भएको हो।
गोलभेँडा उत्पादनका लागि परिचित याङवरक गाउँपालिका–६ का कृषक नवीन श्रेष्ठले यस वर्ष उत्पादन राम्रो भए पनि मूल्य नपाउँदा किसान घाटामा परेको बताउनुभयो।
उहाँले भन्नुभयो, “मूल्य कम भए पनि उत्पादन फाल्न सकिँदैन, बजारमा पठाउनैपर्छ। तर यसपालि किसानलाई फाइदा छैन। विषादीदेखि उत्पादनसम्म धेरै लगानी भएको हुन्छ।”
हाल पाँचथरमा गोलभेँडा प्रतिकिलो १५ देखि १७ रुपैयाँ मा बिक्री भइरहेको छ। गत वर्ष यही समयमा प्रतिकिलो औसत ३० रुपैयाँ मूल्य पाइएको थियो। कृषकका अनुसार प्रतिकिलो ३० रुपैयाँभन्दा कम मूल्यमा बिक्री गर्दा उत्पादन लागतसमेत उठाउन सकिँदैन।
कृषक आइतराज योङहाङले विगतमा राम्रो मूल्य पाएपछि यस वर्ष धेरै किसानले गोलभेँडा खेती विस्तार गरेको भए पनि अहिले लगानी नै डुब्ने अवस्था आएको बताउनुभयो।
यस्तै, कृषक सीता पौडेल मिश्रले मल्चिङ प्रविधिबाट खेती गर्दा उत्पादन लागत अझ बढेको उल्लेख गर्दै अहिलेको मूल्यले मेहनतको प्रतिफलसमेत नदिएको गुनासो गर्नुभयो।
व्यवसायी लेखप्रकाश खेवाङका अनुसार पूर्वी पहाडमा उत्पादित गोलभेँडाको मुख्य बजार झापा, मोरङ र सुनसरी हो। तर पछिल्लो समय ती बजारमा अन्य जिल्लासहित काठमाडौँ र भारतबाट पनि गोलभेँडा आउन थालेपछि स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको उहाँको भनाइ छ।
उहाँका अनुसार अहिले किसानबाट प्रतिकिलो १५–१६ रुपैयाँ मा गोलभेँडा खरिद गर्नुपर्ने अवस्था छ। विगतमा यही क्षेत्रको गोलभेँडा प्रतिकिलो ५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने र भारतसम्म निर्यात हुने गरेको थियो। अहिले भने अवस्था उल्टिएर भारतबाट समेत गोलभेँडा नेपाल भित्रिन थालेको छ।
व्यवसायीहरूका अनुसार तेह्रथुम, धनकुटालगायत जिल्लामा पनि गोलभेँडा उत्पादन बढेसँगै बजारमा आपूर्ति अत्यधिक भएकाले मूल्यमा दबाब परेको हो।
पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुँदै आएको छ। विशेषगरी साविकका पञ्चमी, अमरपुर, नागी र थर्पू क्षेत्रमा ठूलो परिमाणमा उत्पादन हुने गरेको छ। चैतमा रोपिएको गोलभेँडा अहिले बजारमा आउन थालेको हो।
यस क्षेत्रमा कात्तिकसम्म गोलभेँडा उत्पादन हुने भएकाले किसानले पहिलो बालीले मूल्य नपाए पनि पछिल्ला उत्पादनले राम्रो मूल्य पाउने आशा गरेका छन्।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










