म औषधि खान्नँ, रक्सी चैं दिनको एक पेग खान्छु ? मिलाएर खाए विष पनि औषधि बन्छ


 


काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी आजबाट १००औँ वर्ष प्रवेश गरेका छन् । उनी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले आज जन्म शताब्दी कार्यक्रमको आयोजना गर्यो ।

बाजागाजासहित बग्गीमा नगर परिक्रमापछिको समारोहमा बोल्दै उनले भने, ‘आजबाट १०० वर्षको पहिलो चरणमा प्रवेश गरेको छु । यहाँहरूको मायाले अझै दुई–तीन वर्ष बाँच्छु जस्तो लागेको छ ।’

उनले आफू सय वर्ष बाँच्छु जस्तो नलागेको पनि बताए । साथै अहिलेसम्म कुनै औषधि नखाएको सुनाए । भने, ‘म औषधि खान्नँ । एकपटक फोक्सोको पानी जमेकाले अस्पताल चाहिँ भर्ना भएको थिएँ । मेरो एउटा बानी बसिसकेको छ, बेलुकी चाहिँ एक पेग रक्सी खान्छु । त्यहाँभन्दा धेरै खान्नँ ।’

रक्सी मिलाएर खायो भने औषधि बन्ने बताउँदै उनले भने, ‘जसले रक्सी खानुहुँदैन भन्छ, उसैले रक्सी खान्छ । मिलाएर खायो भने लामो आयुका लागि विष पनि औषधि बन्न सक्छ ।’ उनले यसो भनिरहँदा सभाकक्ष हाँसोले भरिएको थियो ।

‘जीवन सुखमय बनाउने वा नबनाउने हाम्रै हातमा छ । जीवनलाई सुन्दर पार्न संस्कृति चाहिन्छ’, उनले भने ।

बुढो हुनु भनेको ईश्वरीय वरदान हो । उनले सुझाव दिए, ‘चिन्ता नगर्नुस् । चिन्तन गर्नुस् । जन्मेपछि मृत्यु अवश्यम्भावी छ । आफूले मृत्युलाई बोकेर हिँडेको छु भन्ने सोच्नुस् । मृत्युसँग किन डराउनुहुन्छ ? चिन्ताबाट मुक्त हुँदै चिन्तन र मनन गर्नुस् । म चिन्ता गर्दिनँ चिन्तन चाहिँ गर्छु ।’

उनले संस्कृतिबिना देश समृद्ध नहुने बताए । उनले भने, ‘प्रधानमन्त्री समृद्ध नेपालको नारा घन्काएर हिँड्नुभएको छ, घर बनाएर मात्र समृद्ध मुलुक बन्दैन । देश समृद्ध बन्न संस्कृति चाहिन्छ । संस्कृतिबिना जीवन रुखो हुन्छ ।’

उनले भने, ‘हामी कहाँ सांस्कृतिक विविधता छ । जुन हाम्रो सम्पत्ति हो । संस्कृतिको उत्थान गर्नु आवश्यक छ । संस्कृतिको उत्थान भन्नु नै राष्ट्रको उत्थान हुनु हो ।’

उनले पछिल्लो समय अनेक शैलीका पुस्तक प्रकाशित हुन थालेकामा खुसी व्यक्त गरे । तर नेपाली भाषामा प्रकाशित भएका कृतिहरू विश्वव्यापी भाषा अंग्रेजीमा प्रकाशित हुन नसक्नु कमजोरी भएको बताए । उनले भने, ‘हामीमा एउटै अभाव देखियो । अरुबाट लिने, आफ्नो दिन नसक्ने । जुन हाम्रो कमजोरी हो । हामीकहाँ विभिन्न शैलीका पुस्तक प्रकाशित भएका छन् । तर अन्तर्राष्ट्रियकरण गर्न सकेका छैनौँ ।’

ललितपुर महानगरपालिकाको प्रांगणमा आयोजित समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, भारतीय राजदूत मञ्जितसिंह पुरी, प्रदेशसभा सदस्यलगायतले उनको योगदानप्रति सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए । साथै समारोहमा ललितपुर महानगरभित्र रहेका जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा सत्यमोहन जोशीद्वारा लिखित केही पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्