मेनपावरका एजेन्टलाई कारबाही गर्न ७७ वटै जिल्लामा परिपत्र


 


काठमाडौं : गृहमन्त्रालयले वैदेशिक रोजगार व्यवसायीको एजेन्टको रुपमा गर्ने काम गैर कानूनी भन्दै एजेन्टहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिँदै सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

पूर्व एजेन्टलाई वैदेशिक रोजगार एजेन्टको रुपमा काम नगर्न आह्वान गरेको वैदेशिक रोजगार विभागको लिखित अनुरोधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयमा पत्र पठाएपछि गृहमन्त्रालयले बुधबार नै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई एजेन्टलाई कारबाहीका लागि परिपत्र गरेको विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले जानकारी दिए ।

विभागले बुधबार नै वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर कम्पनीको एजेन्टको काम गर्ने व्यक्तिहरुलाई उक्त काम जारी राखे कडा कारबाही गरिने चेतावनी दिएको थियो । विभागको यसअघिको अनुगमनमा प्रदेश नं १ को झापा र इटहरीमा एजेन्टहरुको संख्या ठूलो मात्रामा देखिएको थियो ।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एजेन्ट खारेज गर्ने सम्बन्धमा २०७३ सालबाट प्रयासरत रहेको अवस्थामा हाल ऐन संशोधन गरी संघको अनुरोधको सुनुवाइ गरेको भन्दै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगारमा जान इच्छुक नेपाली युवाहरुलाई जिल्ला सदरमुकाममा नै फारम भर्न परामर्श लिन सहज होस् भन्ने उद्देश्यले एजेन्टको सम्पर्क कार्यालय राख्ने व्यवस्था गरेकोमा उद्देश्य विपरित युवाहरु चरम आर्थिक भार र ठगीमा परेको कारणले संघ एजेन्ट खारेजका लागि क्रियाशिल रहेको स्मरण गराएका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्