नेकपा सांसदको प्रश्न– सरकार भारतसामु झुकेकै हो ?


 


काठमाडौं । भारतबाट आयाति तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरूले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए ।प्रधानमन्त्री ओली भने सांसदहरूको आलोचनाप्रति आक्रोशित बनेका थिए । उनले फौजी सिपाहीले जस्तै सरकारको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशनसमेत दिए ।

एक सांसदका अनुसार सत्तारूढ दलकै नेता तथा सांसदहरूले सरकारका कामकारबाहीलाई लिएर संसद्, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए ।

बैठकमा उनले दल र पार्टीको बैठकबाहेक अन्य फोरमबाट सरकारको आलोचना नगर्न सांसदहरूलाई सचेतसमेत गराएका छन् । उनले संसद्मा सरकारको प्रतिरक्षा गर्ने काम सत्तापक्षका सांसदहरूको भएको उल्लेख गर्दै सरकारको विरोध गर्नु संसदीय मान्यता र मर्यादाविपरीत हुनेसमेत बताएका थिए

‘संसद् र बाहिर सरकारमाथि गरिएको आलोचनाको हिसाबकिताब लिइन्छ भन्ने शैलीमा उहाँले जवाफ दिनुभयो,’ स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्