होसियार ! अब फोहोर फ्याँक्नेलाई सीसीटीभीमार्फत पक्रने, ५० हजारसम्म जरिवाना


 


काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ रु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन रु यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ ।

महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो ।

अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ ।

महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान सिंहका अनुसार आर्थिक वर्ष २०७६/७७ को सुरुबाटै महानगरका सबै दोबाटो, चौबाटोमा सीसीटीभी जडान हुने छ । अहिले पनि फोहोर जथाभावी फ्याँक्नेलाई कारबाही नभएको भने होइन । कार्यान्वयन विभाग प्रमुख सापकोटाका अनुसार तीन लाख रुपियाँ जरिवाना शुल्क महानगरपालिकाले उठाएको छ ।

नियमअनुसार एक हजारदेखि ५० हजार रुपैयाँसम्म महानगरपालिकाले जरिवाना गर्न सक्छ । यसलाई अझ प्रभावकारी बनाउँदै सर्वसाधारणमा सार्वजनिक स्थानमा फोहोर थुपार्न हुन्न भन्ने सजगताका लागि पनि सीसीटीभी जडान गर्ने योजना तयार भएको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति: ३१ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्