उर्लाबारीमा खुल्यो सिभिल बैँक, उद्घाटनको दिननै सामाजिक काम


 


उर्लाबारी,साउन २१

सिभिल बैंकले मोरङको उर्लाबारी – ७ इहटहरा रोडस्थित कस्तुरी मलमा आजदेखी औपचारिक रुपमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्नुभयो ।

शाखा उद्घाटनको अवसरमा बैँकले सामाजिक उत्तरदायित्व अन्र्तगत उर्लाबारी – ७ मा अवस्थित नमूना बाल गृहलाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ । शाखा उद्घाटनको अवसरमा बैँकको तर्फबाट रु २५ हजार बराबरको चेक गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरिएको थियो । शाखा उद्घाटन गर्नुहुँदै मेयर फागोले बैँकले दिने सेवासुबिधामा कसैलाई भेदभाव नगरी सबैलाई बराबरी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नगरका सम्पूर्ण व्यवसायी र बैकबीच सहकार्य गरेर अघि बढ्नपर्ने उल्लेख गर्नुभयो । मेयर फागोले उर्लाबारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताउनुभयो । सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख सन्तोषकुमार बुढाथोकीले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । उहाँले बैँकले पुयाउँदै आएको सेवाका विषयमा प्रष्ट पार्नुभएको थियो । बुढाथोकीले सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी सरलीकृत रुपमा घरजग्गा, गाडी, व्यवसायिक कर्जाका योजनाहरु ल्याएको जानकारी दिनुभयो ।

बैँकको उर्लाबारीमा ९४ औँ शाखा रहेको शाखा प्रबन्धक प्रमोद सुबेदीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ७ का अध्यक्ष बिरवल थापा र उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले पनि शूभकामना मन्तव्य राख्नुभएको थियो । बैँकले उर्लाबारीमा गत असार ३० गतेदेखी नै कारोबार सुरु गरेपनि आज औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्