एक वर्षमा १ अर्ब २१ करोडको गुन्द्रुक आयात


 


काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँबराबरको सुकेको गुन्द्रुक आयात भएको छ । सुकेको खुर्सानी ९० प्रतिशत भारतलगायतका देशबाट आयात गरिन्छ ।

बजारको मागअनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो । कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो ।

हालसम्म तीव वटा वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो ।

सरकारी तथ्यांकअनुसार नेपालमा उत्पादन हुने कागतीको हिस्सा पाँच प्रतिशत मात्रै छ । ९५ प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यसैगरी, प्याजको आन्तरिक उत्पादन ५ प्रतिशत मात्र छ । ९५ प्रतिशत विदेशबाट आयात नगरी सुखै छैन ।

यसैगरी, फलफूल आयात ७० प्रतिशत र आन्तरिक उत्पादन ३० प्रतिशत छ । प्रमुख तरकारी तथा फलफूलको आन्तरिक उत्पादन ६० प्रतिशत छ भने विदेशबाट ४० प्रतिशत आयात गर्नुपर्ने बाध्यता छ । अन्य फलफूल ३० प्रतिशत आन्तरिक उत्पादन छ भने ७० प्रतिशत विभिन्न देशबाट आयात हुने गरेको छ ।

सरकारी तथ्यांकअनुसार बजारमा दैनिक एक हजारदेखि १२ सयको हाराहारीमा खसीबोका माग भए पनि आन्तरिक उत्पादन ३ सयदेखि ४ सय वटा छ । आन्तरिक उत्पादनले बजारको माग पूरा गर्न नसकेपछि दैनिक बाहिरबाट ७ सयदेखि ८ सय वटा खसीबोका आयात हुने गरेको छ । यसैगरी, राँगा र भैसीको दैनिक माग ७ सयदेखि ८ सय छ । आजको राजधानी दैनिकमा कौशिला कुँवरले समाचार लेखेकी छिन् ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्