एटिएमबाट पैसा झिक्न पाइने सीमा घट्याे हेर्नुस कति…….


 


काठमांडौ २० भदौ
अब एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको जानकारी दिए। यसअघि दैनिक एक लाख रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था थियो।

त्यस्तै अब एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ। यसअघि एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो।

गत शनिबार चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेपछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो। ‘राष्ट्र बैंकले परिपत्र जारी गरिसकेको छ, बैंकहरुले चाडै नै यसलाई लागू गर्दैछन’ एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको ठहर गरेको छ। सो प्रकरणमा संलग्न ६ चिनियाँ नागरिक पक्राउ परेका छन् भने यससम्वन्धी अध्ययन गर्न फरेन्सिक टोली नेपाल आएको छ।

समितिले तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ। हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले तीन महिनापछि त्यस्ता कार्ड संचालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ।

समितिले दिएका दीर्घकालीन सुझावहरुमा कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।

कार्डसँग सम्बन्धित प्रणालीको अर्धबार्षिक रुपमा परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, एटिएमको कक्षमा जडित सिसिटिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ। साथै, यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने सुझावमा उल्लेख छ।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्