विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन


 


काठमांडौ २९ भदौ
पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको टोलीले गत शुक्रबार वसन्तपुर तथा त्यस आसपासका भित्री शहरको, शनिबार स्वयम्भू र चन्द्रागिरिको अवलोकन गरेका छन् ।

त्यसैगरी आज पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका छन् । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भुटान र जापानबाट प्रतिनिधि आएका छन् । महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका ११ शहरबाट ४१ जना पाहुना आएका थिए ।

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई विभिन्न स्थानको अवलोकन गराउने क्रममा कामपाका प्रमुख विद्या सुन्दर शाक्यले जात्रा पर्व र विभिन्न सम्पदाहरुको जानकारी विदेशी पाहुनालाई गराउन पाउनु राष्ट्रकै लागि खुसीको कुरो भएको बताए । समय छोटो भएकाले धेरै क्षेत्रलाई समेट्न नसकिएको बताउँदै उनले भने, “फरक भूगोल र परिवेशबाट आउनुभएका पाहुनाले हाम्रा सम्पदाको रुचीपूर्वक अवलोकन गर्नुभएको छ ।”

विदेशी पाहुनाले पनि नेपाललको संस्कार र सम्पदाहरु हेर्न लायक रहेका भन्दै आगामी दिनमा पनि आउने बताएका जनाइएको छ । पाहुनाले वसन्तपुरको बःबही, ब्रह्मचक्रमहाबिहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव अवलोकन गरेका छन् ।

यसअघि पनि नेपाल आएको बताउँदै भुटानको थिम्पू नगरका प्रमुख किन्ले दोर्जीले स्थिर सरकार रहेकाले दिगो विकासको शुरुआत भएको भन्दै आगामी दिनमा झन पर्यटकीय गन्तव्य राम्रा हुने बताए । “संस्कृतिले मान्छेलाई सामाजिकीकरण हुन पनि सघाउछ”, प्रमुख दोर्जीले भने, “नेपालमा संस्कृति र सम्पदाको थप संरक्षाण गर्न आवश्यक छ ।” पाँच दिनको भ्रमणमा आएका पाहुना सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्