प्राईभेट अस्पतालमा विरामी किनबेच–सरकार किन मौन ?


 


विशाल पाण्डे स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । तर हाम्रो देश नेपालमा स्वास्थ्य क्षेत्रमा जति बेथिति अन्य क्षेत्रमा भन्दा अत्यन्तै बढी छ । विगत दश बर्षको अन्तरालमा च्याउसरि खुलेको अस्तालहरूले सर्वसाधारणलाई सेवा दिनुको साटो उल्टो चुसिरहेका छन् । सरकारले पनि प्राइभेट अस्पतालका हरेक क्रियाकलापलाई नजिकबाट निगरानी गर्न सकिरहेको छैन, जो अत्यन्तै आवश्यक छ ।

पछिल्लो समय सहरलाई केन्द्रित बनेर खोलिएका अस्पतालहरूलाई विरामी पाउन हम्मे–हम्मे परिरहेको छ । प्राइभेट अस्पतालहरूले विभिन्न ठाउँमा दलालहरू खडा गरी त्यही दलाल मार्फत विरामीहरू मोटोरूपमा खरिद आफ्नो अस्पतालतिर तानिरहेका पाइन्छन् । सहरमा दलालहरूले जुन अस्पतालले बढी पैसा दिन्छ, उही अस्पतालमा बिरामी पु¥याएर हिड्ने एम्वुलेन्सहरूको ठगी धन्धाको सञ्जाल ठूलो छ । एम्बुलेन्स सेवाको आवरणमा उनीहरूले बिरामी दलालको काम गरिरहेका छन् । सहरका अस्पतालहरूका लागि एम्वुलेन्स ड्राइभरहरू ज्वाइँजस्तै हुन् । उनीहरूले जे–जे माग्यो त्यही–त्यही पु¥याउने काम प्राईभेट अस्पतालका सञ्चालकहरूले गरिरहेका छन् । यस्ता अनैतिक क्रियाकलाप सुन्दैमा अनौठो लाग्ने गर्दछ । एउटा सरकारी अस्पतालमा उपचार गर्न नसक्ने सर्वसाधारणलाई ललाइ–फकाइ प्राइभेट अस्पतालमा पु¥याउने काम ड्राइभर वा जो कोहीबाट भएमा उसलाई कडाभन्दा कडा कारबाही गर्नु अत्यन्त आवश्यक छ ।

प्रायः यस्तो ठगिनेमा मध्यम र न्यून आर्थिक अवस्थाका मान्छेहरू रहेका छन् । गाउँ गाउँबाट सरकारी अस्पतालको आकस्मिक कक्षमा केही उपचार गरी भर्ना गर्ने बेलामा प्राइभेट अस्पतालमा बिरामीलाई सरुवा गर्ने काम सरकारी अस्पतालका आकस्मिक कक्षका चिकित्सकहरूको हुन्छ । बिरामीलाई विभिन्न डरत्रास देखाई प्राइभेट अस्पतालमा बेच्न गरिएका तमाम उदाहरणहरू पाउन सकिन्छ ।

प्रत्येक प्राइभेट अस्पतालहरूले बिरामी बेचबिखन गर्नका लागि अस्पतालमा मार्केटिङ्ग विभागको स्थापना गरेका हुन्छन् । उक्त विभागले आफ्नो विभागको काम कर्तव्य भुलेर विभिन्न पृष्ठभूमिका दलालहरूसँग सम्पर्क बढाई कसरी बढीभन्दा बढी बिरामी खरिद गरी तान्न सकिन्छ भन्ने सोच बनाइरहेका पाइन्छ । यो सरासर ठगी धन्धा हो ।

स्वास्थ्य उपचारका नाममा आम सर्वसाधारणहरू ठगिइरहेको कुरा कुनै नयाँ भने होइन । सरकारले पनि ठगी गर्ने अस्पताल र दलालहरूलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन आवश्यक छ । नयाँ प्राईभेट अस्पतालहरूले पर्याप्त मात्रामा चिकित्सकहरू, भौतिक संरचना र आवश्यक जनशक्ति निर्माण नगरी अस्पताल सञ्चालन गर्नाले कयौं सर्वसाधारणहरू ठगीमा परिरहेका छन् । प्राइभेट अस्पतालका सञ्चालकहरू उपचारमा भन्दा पनि बढी पैसा र विरामी कसरी ठग्न सकिन्छ भन्ने सोचाइतिर केन्द्रित भएका कारण आम सर्वसाधारणहरू प्राईभेट अस्पतालमा बेचिनुपरेको छ । उपचारमा आपूm निकै दक्ष भनी घोषणा गर्ने कतिपय अस्पतालहरू स्वास्थ्य सेवाका लागि वरदान होइनन् भन्ने कतिपय घटनाहरूबाट पुष्टि भइरहेका छन् । दलालहरूबाट यस्ता अस्पतालहरूले प्रतिष्ठा गुमाइरहेका पनि छन् । सरकारले सूक्ष्म ढंगले छानविन गर्ने हो भने अस्पतालहरूको गलत व्यापार भण्डाफोर हुने निश्चित छ ।

आजको २१औं सताव्दीमा आएर आफ्नै देशका नागरिकहरू स्वास्थ्य उपचारका नाममा बिक्री हुनु भनेको कानुनको कार्यान्वयनमा सरकार पूर्णरूपमा असक्षम हुनु हो । सहरमा प्रायः प्राइभेट अस्पतालहरूले आईसीयू वार्डमा लामो समय बस्नुपर्ने बिरामी, सल्यक्रिया गर्नुपर्ने बिरामीहरू र क्यान्सर रोगसँग सम्बन्धित बिरामीहरू किन खरिदबिक्री गरिररहेका पाइन्छन् । विभिन्न बसले दुघर्टना गराएर बिरामी भएका मानिसहरू त प्राईभेट अस्पतालका लागि लैनो भैंसीसरह नै हुन् । यस्ता बिरामीहरूलाई प्राइभेट अस्पतालले प्राय लामो समय राख्ने र उसको उपचारको बिल पनि यातायात कम्पनीले तिर्ने भएकाले अत्यन्तै महँगो उपचार गरेका पाइएका छन् । प्रायः प्राईभेट अस्पतालहरूले आफ्नो सम्पर्क बढाई गाउँबाट पनि बिरामी खरिद गरी सहरमा उपचारका लागि ल्याएको पाइएका छन् । यस्ता विरामीहरूबाट बिरामी पठाउने दलाललाई मोटो रकम दिई जहिले पनि आफ्नो स्वार्थमा अस्पतालहरूले राख्ने गर्दछन् ।

स्वास्थ्य उपचारमा आम सर्वसाधारण बेचिएको विषयमा सरकार मौन बस्नु कुनै पनि हालतमा ठीक होइन । यसरी विरामी किनेर अस्पताल चलाउने सञ्चालकलाई कडा भन्दा कडा रूपमा कारवाही गरी कानुनी दायरामा ल्याउनु आवश्यक छ । अस्पतालको स्तर उन्नति गर्ने, उपचार सेवा स्तरीय दिनेलगायतका कामहरूमा उत्कृष्ट बनेका अस्पतालहरूलाई समेत बदनाम गराउने गरी बिरामी खरिद गर्ने दलालहरूले जनतालाई लुटिरहेका छन् । नेपालको संविधानमा नै व्यवस्था भएको अधिकारलाई सीमित समूहको स्वार्थमा परेर बिचलित हुनुपर्ने कुनै पनि कारण छैन् । यसरी गरिब निमुखा र असिक्षित बिरामीहरू किनबेच गर्ने दलालहरूलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नु आवश्यक छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्