झोराहाट वाङ्मय महोत्सव शुरु


 


विराटनगर, ११ असोज

कला, साहित्य र संस्कृतिको विकास गर्न ग्रामथान गाउँपालिका–२ मोरङमा ‘झोराहाट वाङ्मय महोत्सव–२०७६’ आजदेखि शुरु भएको छ ।

‘गाउँमा कविता’ को जमघट गराउने उद्देश्यले शुरु भएको दुई दिने सो महोत्सवमा भारतको दार्जिलिङ, सिक्किम र नेपालको मेचीदेखि महाकालीसम्मका करीब २०० कवि, कवयित्री एवं सात्यिकारको सहभागी रहने साहित्यिक अभियन्ता गण्डकी पुत्रले जानकारी दिए ।

प्रारम्भमा राष्ट्रिय समाचार समिति सञ्चालक समितिका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी‘श्यामल’ले ‘हतारमा यात्रा’ र ‘चिडिया घरको सुनसान’, साहित्यकार तुलसी दिवसले ‘पुस्तक र मान्छे’ र ‘जिन्दगी र लुगा’, साहित्यकार जसराज किराँतीले ‘आजकल जसराज’ र ‘जिन्दगी मलाई चाहिन्छ’ र छन्द कवि प्रभा भट्टराईले ‘खै म के भन्नु’ तथा ‘परदेशबाट फर्कनु’ शीर्षकमा आ–आफ्ना कविता वाचन गरेका थिए ।

साहित्यिक जमघटमा साहित्यकार सरिता मण्डलले गनगाइ, मुसहर र डुम जातिको प्रचलित लोक साहित्य र साहित्यकार प्रा डा टङ्क न्यौपानेले प्रदेश नं–१ को भाषा, भाषिक र संस्कृतिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्र झोराहाटद्वारा आयोजित सो कार्यक्रममा सहआयोजक नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल पर्यटन बोर्ड रहेका प्रतिष्ठानका सदस्य डा देवी नेपालले जानकारी दिए ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्